काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न दिएको अन्तरिम आदेश लागू गर्न विद्यार्थीहरुले माग गरेका छन्।
स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका विद्यार्थीहरुले आइतबार पत्रकार सम्मेलन गरी सर्वोच्चले दिएको अन्तरिम आदेश लागू गर्न माग गरेका हुन्। सर्वोच्चले पुरानै कार्यविधि अनुसार भर्ना प्रक्रिया अघि बढाउन र नयाँ कार्यान्वयन नगर्नु भनी दिएको अन्तरिम आदेश चिकित्सा शिक्षा आयोगले पालना नगरेको उनीहरुले बताएका छन्।
भर्ना प्रक्रियामा ढिलाई हुँदा आफूहरुको वृद्धि विकास र अध्ययनमा असर पर्ने डा विप्लव लामिछाने बताए। आयोगले चलाखीपूर्ण अवैज्ञानिक कार्यविधि ल्याएको उनले जानकारी दिए।
उनले भने, ‘चिकित्सा शिक्षा आयोगले चलाखीपूर्ण अवैज्ञानिक ढंगले यस्तो कार्यविधि ल्यायो। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पनि कार्यान्वन गरेको छैन।’
स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका अर्का डा अमिर अवालले विद्यार्थीहरुको अध्ययनमा असर गर्ने खालको कार्यविधि नल्याउन आग्रह गरे। आयोगले गर्ने यस किसिमको काम र निर्णयहरुले आफुहरु अध्ययनका लागि विदेशिन बाध्य भएको उनको भनाई छ।
‘विद्यार्थीहरुले कडा मेहनत गरेर अध्ययन गर्छन्। टप गर्छन्। तर आफुले रोजेको विषय पढ्न पाउँदैनौ भने हामीलाई कस्तो असर पर्छ होला?’ उनले भने, ‘विद्यार्थीहरुको अध्ययनमा सहजता ल्याउने कार्यविधि आयोगले ल्याउनुपर्छ।’
न्यायपूर्ण ढंगले म्याचिङ्ग प्रणाली अनुसार भर्ना प्रक्रिया सुरु गर्न आयोगलाई विद्यार्थीहरुको आग्रह छ। स्नातकोत्तर अध्ययनका लागि बदनियतपूर्वक विद्यार्थी भर्ना कार्यविधि संशोधन भएको भन्दै उनीहरुले सर्वोच्च अदालतमा पुष १४ गते रिट दायर गरेको थियो। सर्वोच्चले पुस १७ गते सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशविरुद्ध आयोग पुनः अदालत गएको छ।