पोखरा– आत्मदाहको प्रयास गरेका डेरावाल पुरुषलाई बचाउने क्रममा घाइते भएकी घरभेटीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत सापकोटाको सोमबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए।
सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउने क्रममा घरबेटी स्वयं गम्भिर घाइते भएकी थिइन्।
दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ। उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन्।