काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नलाई कारबाही गर्न निर्देशन दिएका छन्।
उनले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिए।
मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन्। उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए।
उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे। उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।
उनले विभागमा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए। उनले विभागले चाँडोभन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे।
मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए। उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए। मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभूत रुपले जनताले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको उल्लेख गरे।
स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नुस्: राज्यमन्त्री डा तोसिमा कार्की
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन्।
मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनुभन्दा अघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको राज्यमन्त्री कार्कीले बताइन्।
उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन्।
नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने उनले बताइन्। उनले देशभित्रै औषधिहरुको उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन्।
राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्यधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने धारणा राखिन्।