काठमाडौं- नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।
आज बिहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए।
यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ। उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उनले बताए।
उनका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ। तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन्। निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिनु भएको छ। अध्यक्षमा डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्। निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना रहनुभएको छ। यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।