फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस! आज धेरै जसो सामाजिक संजालका वालहरु HAPPY WORLD CANCER DAY भनेर सजिएका होलान्। म पनि त्यही वाक्य लेखेर वाल सजाउने योजनामा थिए।आखिर कैले सम्म हामी सामाजिक संजालका वालमा मात्र सिमित रहने त? इतिहास हेर्ने हो भने क्यान्सरको स्थिति भयाभह हुँदै आइरहेको हामीलाई थाहा छँदै छ।
GLOBOCAN को पछिल्लो तथ्यांक अनुसार विश्वमा सन् २०२० मा मात्र एक करोड ९३ लाख नयाँ क्यान्सर बिरामी देखिएका छन् र एक करोड मानिस २०२० मा मात्रै क्यान्सरको कारणले ज्यान गुमाएका छन्। विश्वमा देखिएका सबै क्यान्सर मध्य ५७ प्रतिशत क्यान्सर निम्न तथा मध्यम स्तरको आय भएका देशहरुमा मात्र रहेका छन् साथै क्यान्सरबाट हुने मृत्युको ६५ प्रतिशत हिस्सा यीनै देशहरुले ओगटेको छ। GLOBOCAN ले गरेको सन् २०४० सम्मको आंकलन हेर्ने हो भने न्युन मानव विकास सुचाङ्क भएका देशहरु (जस्तै Niger, Sudan, Burundi लगायतका अन्य अविकसित देशहरु) मा अहिलेको भन्दा ९६ प्रतिशत (लगभग दोब्बर ), मध्यम HDI भएका देश (जस्तै नेपाल, पाकिस्तान जस्ता विकासशिल देशहरु) मा ६४.७ प्रतिशत, उच्च HDI भएका देशमा ५६.२ प्रतिशत र अति उच्च HDI भएका देश (जस्तै Swizerland, Canada, Australia लगायतका अन्य बिकसित देशहरु) मा ३२.२ प्रतिशत वृद्धि हुने आंकलन गरिएको छ।
अनुसन्धानका तथ्यांकहरु हेर्दा विकसित देशहरुमा क्यान्सर नभएको होइन तर यिनीहरुको उच्चस्तरीय क्यान्सर रोकथाम तथा नियन्त्रण सम्बन्धि नीति निर्माण तथा कार्यान्वयनसंगै क्यान्सर हुने दर घट्नुको साथै क्यान्सरबाट हुने मृत्युदर घटाउन निकै सफल भएका छन्।
नेपालमा क्यान्सरको स्थिति
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको पछिल्लो अनुसन्धान (Nepal Burden of Disease Study, 2019) अनुसार सन् १९९० मा मृत्युको छैठौ प्रमुख कारक तत्वको रुपमा रहेको क्यान्सर २०१९ मा मृत्युको तेस्रो प्रमुख कारक भएको पाइएको छ। विभिन्न अनुसन्धानले देखाए अनुसार नेपालमा प्रति एक लाख मानिसमा १०२ जनालाई क्यान्सर देखिएको छ र प्रति एक लाख मानिसको मृत्यु मध्य ८६ जना मनिस क्यान्सरको कारणले मर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरिरहेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको पछिल्लो रिपोर्ट अनुसार काठमाडौं उपत्यका लगायत देशका विभिन्न नौवटा जिल्लामा मात्रै सन् २०१८ मा ३,३४९ र सन् २०१९ मा ३,२९५ जना नयाँ क्यान्सरका बिरामी दर्ता भएका छन्।
GLOBOCAN Nepal का अनुसार सन् २०२० मा मात्रै २०,५०८ जना क्यान्सरका नयाँ बिरामी देखिएका छन् तथा १३,६२९ जना मानिसले क्यान्सरको कारणले ज्यान गुमाएका छन् र बढ्दो शहरीकरण, अवस्थकर खानपिन, वायु प्रदुषण, बढ्दो विलाशिता (Physical inactivity ) को कारणले यो सङ्ख्या बर्सेनी बढिरहेको पाइन्छ। सबै ठाउँमा एकै किसिमको disease pattern देखिन्छ भन्ने छैन, शैक्षिक अवस्था, भोगोलिक अवस्था, खानपिन तथा व्यवहारको कारणले फरक फरक क्यान्सरहरु प्रमुख रुपमा देखिन्छन्। जुन हाल भैरहेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री (PBCR) ले प्रस्ट देखाइ रहेको छ। PBCR को पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा महिलामा क्रमश: स्तन, फोक्सो, पाठेघरको मुख, पित्तथैली र अण्डाशयको क्यान्सर प्रमुख रहेका छन् भने पुरुषमा क्रमश फोक्सो, पेट, प्रोस्टेट, आन्द्रा र मुत्रथैलीको क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखा परेको छ।
मधेश प्रदेशका चारवटा जिल्लामा भइरहेको क्यान्सर रजिस्ट्रीले महिलामा स्तन, पाठेघरको मुख, पित्त थैली,फोक्सो र अण्डाशयको क्यान्सर क्रमश प्रमुख देखिएका छन् भने पुरुषमा मुख, फोक्सो, पेट, पित्त थैली र कलेजोको क्यान्सर देखिएका छन्।
दुर्गम जिल्लाहरुको प्रतिनिधित्व गर्दै गरिएको रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाको क्यान्सर रजिस्ट्रीले त्यस जिल्लामा महिलामा फोक्सो, स्तन, पाठेघरको मुख, अण्डाशय र पेटको क्यान्सर प्रमुख रहेका देखाई रहेको छन् भने पुरुषमा फोक्सो, पेट , मुत्रथैली, थाईराईड र प्रोस्टेटको क्यान्सर प्रमुख रुपमा देखा परेका छन्।
नेपाल सरकारले क्यान्सर बिरामीको लागि उपचार खर्च बापत दिने प्रति व्यक्ति रु एक लाखको दरले एक बर्षमा मात्रै (२०,५०८*१,००,०००) २ अर्ब ५ करोड रुपैया राज्य कोष बाट खर्चिएको छ र यो २०७६ साल देखि दिदै आइरहेको छ। ५ बर्षमा यो खर्च १० अर्ब २५ करोड रुपैया हुन जान्छ तर यो खर्चको प्रभावकारिताको अध्ययन (के कति क्यान्सरका बिरामी के कति वर्ष बाच्न सफल भए (Study on Cancer Survival) भन्ने बारेमा कहिँ कतै पनि केहि अनुसन्धान भएको पाइदैन। के पैसा खर्च गरेर मात्रै सरकारको / सरोकारवाला निकायको कर्तब्य सकिन्छ त?
के हो क्यान्सर रजिस्ट्री? यसको उपयोगिता के का लागि?
सामान्य भाषामा भन्नु पर्दा क्यान्सर रजिस्ट्री भनेको क्यान्सर बिरामीको गणना गर्ने कार्य हो। यो एक continuous and scientific प्रक्रिया होजहाँ बिरामीको सामाजिकतथा जनशाङ्खिक (socio -demographic) र क्यान्सर सम्बन्धित (Tumor related) बिबरणहरुको अभिलेख राखिन्छ र हरेक बर्ष वैज्ञानिक तरिकाले विश्लेषण गरि सम्बन्धित निकायलाई रिपोर्ट गरिन्छ। विषेशगरी क्यान्सर रजिस्ट्री तीन प्रकारले गर्न सकिन्छ ती हुन् अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री (Hospital-based cancer registry), प्रयोगशालामा आधारित क्यान्सर रजिस्ट्री (Pathology-based cancer registry) र जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्ट्री (Population-based cancer registry)। तीनवटै रजिस्ट्रीको आफ्नो-आफ्नो महत्व र योगदान हुन्छ। Hospital-based र Pathology-based कुनै स्वास्थ्य संस्थामा उपचार तथा निदानको क्रममा आएका बिरामीको आवश्यक विवरण अभिलेख गरिन्छ। यस्ता रजिस्ट्रीले विषेश गरि संथागत विकास गर्न, उपचारको गुणस्तर सुधार गर्नआवश्यक पर्ने जिज्ञासाहरु जस्तै बिरामीले अस्पतालमा दर्ता भए पश्चात निदान तथा उपचारको निम्ति कति समय waiting गर्नु परेको छ?, बिरामी र स्वास्थ्यकर्मीको अनुपात ठिक छ कि छैन?, स्वास्थ्य संस्थामा प्रथम पटक आउदा बिरामी कुन चरण (Initial Staging ) को क्यान्सर बोकेर आइरहेका छन्? आफ्नो संस्थामा उपचार गराउनु भएका बिरामीको निको दर (cure rate) कति छ?,के कति बिरामी आफ्नै स्वास्थ्य संस्थामा पूर्ण उपचार गर्न सम्भब भएको छ? भन्ने जस्ता आदि इत्यादी कुराको बिबरणदिन्छ जसको आधारमा संस्थाको गुणस्तर बढाउन यिनको ठुलोमहत्व रहन्छ।
जनसङ्ख्यामा आधिरित क्यान्सर रजिस्ट्री (PBCR) एउटा निर्धारित क्षेत्र (जस्तै कुनै जिल्ला, प्रदेश, पालिका अथवा पुरै देश) समेटेर गरिन्छ र त्सस क्षेत्रमा कुनै निश्चित बर्षमा के कति नयाँ मानिसमा क्यान्सर देखा पर्यो, के कति मानिस क्यान्सरको कारणले मृत्युबरण गरे भन्ने कुराको तथ्यांक संकलन गरिन्छ। यसमा सङ्ख्या गणना मात्र नभएर हरेक व्यक्तिको tumor profile को अध्धयन गरि अभिलेख राखिन्छ यसले निर्धारित क्षेत्रको नयाँ क्यान्सर हुने दर (incidence rate), मृत्युदर (Mortality rate ), क्यान्सरको ढाचा (disease patterns) र trends कोअध्ययन गर्दछ।
Cancer Epidemiology अध्ययन गर्ने मुख्य थलो नै जनसख्यामा आधारित क्यान्सर रजिस्ट्री हो जसले कुन भौगोलिक क्षेत्रमा कुन क्यान्सरको प्रकोप धेरै छ?, कुन उमेर समुहका मानिस बढी प्रभावित रहेका छन्?, रोकथाम गर्न सकिने खालका बिरामी बढिरहेका छन् कि गुणस्तरीय उपचार गर्नुपने बिरामी धेरै छन् ?, सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सर धेरै हो कि किटाणुको संक्रमणको कारणले हुने क्यान्सर धेरै हो? त्यस क्षेत्रमा कस्तो किसिमको जनचेतना आवस्यक छ ?, Screeningगर्नुपरे कुन क्यान्सर अनि कुन उमेर समुहलाई गर्ने? आदि इत्यादी जिज्ञासाको उत्तर खोज्ने ठाउँ हो जनसख्यामा आधारित क्यान्सर रजिस्ट्री। यसको महत्व र उपयोगिता कुनै स्वास्थ्य संस्था, अथवा व्यक्ति बिशेसको लागि होइन देश र प्रदेशको लागि हो,गाउ तथा नगरको लागि हो। तथ्यांकमा आधारित क्यान्सर रोकथाम तथा नियन्त्रण सम्बन्धि नीति नियम बनाउनको लागि हो? देशमा बर्सौदेखि गरिएका क्यान्सर रोकथाम सम्बन्धी कार्यक्रमको प्रभावकारिता कस्तो छ त भनेर अध्ययन गर्ने मुख्य आधार हो जनसख्यामा आधारित क्यान्सर रजिस्ट्री।
इतिहास हेर्ने हो भने सर्बप्रथम जर्मनीको हमबर्ग (Hamburg ) स्टेट सरकारले क्यान्सर नियन्त्रणमा मेडिकल तथा वैज्ञानिक विचारले मात्र भन्दा जनस्वास्थ्य तथा आर्थिक हिसाबले पनि सोच्नु पर्छ ( Cancer control involves not only medical and scientific but also public health and economic aspect) भन्ने उद्देश्यका साथ सन् १९२९ मा जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्ट्री सुरु गरेको थियो। यसरी गरिएको क्यान्सर रजिस्ट्रीको तथ्यांक क्यान्सरको महामारी (Cancer Epidemiology) अधययन गरि रोग नियन्त्रण गर्न विशेष प्रभाभकारी हुने देखिएपछि क्रमश अमेरिका, डेनमार्क, क्यानाडा, ईङ्गल्याण्ड, न्युजील्याण्ड, नर्वे लगायतका संसारका धरैजसो देशहरुले दशकौ देखि जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्ट्री गरिरहेका छन् र क्यान्सरलाई सम्बन्धित निकायमा अनिवार्य रुपमा सूचना दिनु पर्ने नियम गराई Notifiable disease घोषणा गरि निरन्तर क्यान्सर रजिस्ट्रीको माध्यमबाट क्यान्सर रोकथाम तथा नियन्त्रण सम्बन्धी रणनीति बनाई कार्य गर्दै आइरहेका छन्।
हाम्रै छिमेकी देशहरुमा हेर्ने हो भने भारतमा सन् १९६३ मा मुम्बइबाट सुरु भई हाल सम्म ३१ स्थानमा PBCR भैरहेका छन् भने चीनमा सन् १९५९ मा Linzhou city बाट सुरु गरिएको क्यान्सर रजिस्ट्री ५७४ वटा स्थानमा भैरहेको छ। के विकसित तथा विकासशील देशहरुले यसको महत्व नहुँदा नहुँदै पनि लगानी गरिरहेका हुन् त? हाम्रो देशले यसको महत्व कहिले बुझने?
क्यान्सर रजिस्ट्रेसनमा नेपालको अवस्था के छ त?
नेपालमा पनि क्यान्सर रजिस्ट्री सुरु नभएको होइन। सर्वप्रथम नेपालकै प्रमुख मानिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् १९९५ मा अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री (HBCR) सुरु गरेको हो जुन २००३ मा देशका विभिन्न १२ वटा अस्पतालहरु संग सहकार्य गरि राष्ट्रिय क्यान्सर रजिस्ट्रेशन कार्यक्रम (National Cancer Registry) सुरु गरेको थियो। तर अहिले २० वर्ष कटिसक्दा सम्म यस कार्यक्रम कसरी चलिरहेको छ भन्ने हेक्का पाउन गार्हो हुन्छ। HBCR गर्न कुनै Uniform Registration system को विकास गरिएको छैन। रजिस्ट्रीको लागि समर्पित जनशक्ति को र कति जना हो भन्न सक्ने अवस्था छैन बर्सौ देखि रजिस्ट्री गरिरहेता पनि कुनै अनुसन्धान गर्नु पर्दा पुनः फाइल नखोजी नहुने अवस्था छ। जमाना क्यान्सरको वर्गिकरण गर्नI nternational Classification of Disease for Oncology (ICD-O-3) मा पुगिसक्यो हाम्रो देशको HBCR ICD 10 मा नै अड्किरहेको छ। आखिर किन यस्ता कार्यक्रमले संस्थामा स्थान पाउन नसकेको हो त? अस्पतालमा उपलब्ध सेवाको गुणस्तर मापन गर्ने मुख्य आधार नै HBCR हो नि होइन त ?
नेपाल स्वास्थ्य अनुसन्धान परीषदले सन् २०१८ देखि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र विश्व स्वास्थ्य संगठन र क्यान्सर अनुसन्धानको लागि अन्तर्रास्ट्रिय निकाय, IACR (International Agency for research on Cancer) को प्राविधिक (Capacity Building and Data quality check) सहयोगमा देशका विभिन्न नौ वटा जिल्लाहरुमा जनसख्यामा आधारित क्यान्सर रजिस्ट्री गरिरहेको छ। यसले रजिस्ट्री गरिएका जिल्लाहरुमा बसोबास गर्ने सबै जनसंख्यालाई समेटेको छ र नेपाल सरकारलाई अन्तरास्ट्रिय स्तरको क्यान्सरको तथ्यांक दिईरहेको छ।
सुरुवाती समयमा pilot program को रुपमा नौ वटा जिल्लामा सुरु गरिएको यो रजिस्ट्री ५ वर्ष पुग्दा पनि तेती नै जिल्लामा सिमित रहन पुगेको छ। यस रजिस्ट्रीलाई देशब्यापी रुपमा विकास गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग छलफल नभएको पनि होइन। ए बाबा! हाम्रो स्वास्थ्य मन्त्रालयलाई के कस्ता कार्यक्रमहरु देशको अग्रगामी हितमा काम गर्छन भन्ने कुरा थाहा नभएको हो र? मन्त्रालयलाई चलाउने चिकिस्तक अनि जनस्वाथ्यकर्मीहरु नै होइन र? अर्बौ रुपैयाँ उठ्ने राष्ट्रिय कर कोषको बजेटबाट बर्षमा २ करोड खर्च गरेर राष्ट्रिय स्तरमा क्यान्सर रजिस्ट्री गर्न सरकारले नसक्ने त होइन नि? तर बिडम्बना सबै क्षेत्रमा राजनीति अनि कमिसन! सधै आफ्ना आसे पासेका अस्पताललाई अनुदान अनि दुई चार ओटा survey गर्यो पैसा सक्यो न त्यो पैसाको कुनै टुंगो लाग्छ न कुनै प्रभाभकरिता !
नेपालमा मात्रै पछिल्लो समयमा ७१ प्रतिशत मानिस नसर्ने रोगको कारणले मर्न लागिसकेका छन् कहिलेसम्म हामी मलेरिया र टिबी मात्रै भनिरहने हो त? १८/१९ वर्ष अगाडी माओबादी द्वन्दको बेलामा १७,००० मानिस मारिएको कुरालाई अझै पनि मुख्य बहसको मुद्दा बनाइन्छ। जबकी हरेक वर्ष २०,००० भन्दा धेरै मानिस क्यान्सरको कारणले जिउदै मरेका छन्, परिवारमा एक जनालाई क्यान्सर हुँदा उसको दोस्रो तेस्रो पुस्तासम्मलाई आर्थिक भार परिरहेको हुन्छ। क्यान्सर भएपछी बिरामीको त कमाउने बाटो बन्द हुने नै भयो घरका अरु सदस्यले समेत काम छोडेर बिरामीको स्याहार गर्नु पर्दा थप आर्थिक भार पर्न जान्छ।
अझै क्यान्सर अस्पतालका छेउछाउमा रहेका होटल रेस्टुरेन्टहरुले उत्तिकै ब्रमलुट परिरहेका हुन्छन। सरकारले दिएको १,००,००० रुपैयाँ ६/७ महिना अस्पताल परिसरमा बसेर खान पनि पुग्दैन। यति भैसक्दा पनि प्रभाभकारी रुपमा क्यान्सर रोकथाम तथा नियन्त्रणमा सम्बन्धित निकायको खासै चासो भएको देखिदैन। किनकि नेपालमा कुन ठाउँमा कस्तो क्यान्सर रोकथाम कार्यक्रमको जरुरत छ भन्ने मर्गदर्शन गर्ने PBCR लाई खासै स्थान दिइएको छैन र यस सम्बन्धी नियमन गर्ने कुनै आधिकारिक निकाय नै छैन।
हुन त विभिन्न स्वास्थ्य संस्थाले अनुदान पाएसम्म पाठेघरको क्यान्सर परिक्षण गरेका उदाहरण प्याट्ट फुट्ट देखिन्छन तर यस्ता कार्यक्रमका योजना बनाउदा स्वास्थ्यकर्मीका गृहजिल्ला, घुम्न जान मन लागेका स्थानहरुका आधारमा गरिने गरिन्छ ताकी यसको आवश्यकताको आधारमा होइन। अनि हरेक क्षेत्रमा पाठेघर मात्रै हेरेर हुन्छ?, सुर्ती अनि चुरोटका खोलमा सानो अक्षरले स्वस्थ्यका लागि हानिकारक छ है मात्र भनेर पुग्छ र ? उता India मा हेरौ त मुम्बई टाटा मेमोरियल केन्द्रमा मात्रै Tobacco quite कार्यक्रमको प्रभाकारी परामर्शको माध्यमबाट दैनिक हजारौ जनताले सुर्तीजन्य बस्तु त्यागेका छन्।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारकतत्वको रुपमा रहेको Human Papiloma Virus विरुद्धको खोप लगाएर विकशित देशहरुमा पाठेघरको मुखको क्यान्सर हुने दरलाई लगभग शून्यमा झारिसकेका छन्। राम्रा कामको अनुशरण पनि गरौ न। अनि अर्को तर्फ क्यान्सरको उपचारमा अस्पतालको धेरै आम्दानी हुन्छ भन्ने हेतु हो या बिरामीलाई सुबिधा दिनको लागि हो सबै जसो अस्पतालले क्यान्सरको उपचार गर्न पछि पर्दैनन्। ए बाबा ! एउटा चिकिस्तक र बिरामी सुताउने बेड मात्र भएर क्यान्सर उपचार हुने हो र? खोई केमु बनाउने Bio-Safety Cabinet? खोइ केमु बनाउने अनि spill management को लागि स्वास्थ्यकर्मीलाई तालिम? केमु आफैंमा एउटा हानिकारक बस्तु! जसलाई तयारी गर्दा होस् या लगाउदा होस् standard protocol नअपनाउने हो भने पुरै अस्पताल तथा स्वास्थ्यकर्मी नै खतरामा परिरहेका हुन्छन्। गर्भवती तथा स्तनपान गराईरहेका महिला स्वास्थ्यकर्मीलाई धेरै खतरा हुन्छ भन्ने कुरा अनुसन्धानले देखाइरहेका छन ।कसले बुझने यो कुरा ?
अनुगमन गर्ने हो भने नेपालका मुख्य ६ वटा क्यान्सर अस्पतालमा बाहेक कहिँ पनि केहि protocol/equipmentछ भन्नि लाग्दैन। खोइ कसले गर्ने यो अनुगमन? खोइ नेपालको क्यान्सर नीति? खोइ क्यान्सर अस्पताल संचालन गर्नको लागि आवश्यक मापदण्ड? बिरामीको शरीरबाट कुनै malignant tumor को उपचार गर्न क्यान्सर फिजिसियन, सर्जन, रेडियसन विशेषज्ञ लगायतका अन्य स्वास्थ्यकर्मी सबैको जरुरत पर्दछ यो सबैलाई थाहा भएकै कुरा हो। कहिलेसम्म बिरामीलाई Ultrasound गर्न एउटा ठाउँमा, Biopsy गर्न अर्को ठाउमा, केमु लगाउन फेरि अर्को अस्पतालमा, सेकाइ गर्न (Radiation Therapy) अर्को ठाउमा……………उफ! बिरामीले कहिले सम्म यस्तो सास्ती भोगिरहने?
एउटा क्यान्सर अस्पतालको लागि चाहिने सम्पूर्ण पूर्वाधार तथा जनशक्ति जुटाउन सक्ने संस्थालाई मात्र संचालन अनुमति दिने नियम कहिले बनाउने? आजभन्दा ३ बर्ष अगाडि बजेट भाषण हुँदा नेपाल सरकारको मातहतमा Cancer Institute खोलिने छ भनेर बोलिएको थियो। ख़ै त्यो कहाँ सेलायो ? जनता लाटा छन् भन्नि ठानेर सधै बोलेर मात्र हुन्छ योजना अनुसारको कार्यान्वयन गर्नु पर्दैन?
भयो! अब यी सबै आश्वशन बन्द गरौं। नेपलमा जसरी क्षयरोग, मलेरिया, दादुरा /रुबेला नियन्त्रणको लागि बर्षौ देखि लगानी भैरहेको छ त्यसैगरि नेपाल सरकारको मातहतमा रहने गरि अबिलम्ब क्यान्सर रजिस्ट्रेशन, रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न अत्यन्तै जरुरि छ र क्यान्सरलाई अनिवार्य सुचिकृत गर्नु पर्ने गरि Notifiable Disease घोषणा गरि अहिले भैरहेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीलाई देशै भरि विस्तार गरि अन्तरास्ट्रिय Standard को Nation-wide PBCR गर्न पर्छ। अनि बल्ल Evidence based action भने जस्तै actual क्यान्सर burden को आधारमा क्यान्सररोकथाम तथा नियन्त्रण सम्बन्धि नीति निर्माण गरि कार्यन्वयन गर्नु पर्दछ। अनि बल्ल हामीले ढुक्क संग हाम्रा Facebook Wall हरु HAPPY CANCER DAY भनेर सजाउने छौं।
(उमा काफ्ले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत छिन्।)