काठमाडौं- ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि प्रहरीले बिना कारण आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शी शिव बस्नेतका अनुसार सडकको साइडमा रहेका डाक्टर माथि प्रहरीले थर्काउँदै लाठीले आक्रमण गरेका हुन्।
ट्रमा सेन्टरमा प्रहरी, नेपाल चिकित्सक संघका महासचिव डा बद्री रजालसहित ट्रमाका चिकित्सकहरुसँग भइरहेको छलफलमा सहभागी भएका प्रत्यक्षदर्शी बस्नेतले डाक्टरलाई लाठी हान्ने प्रहरीले मदिरा पिएको बताएका छन्।
'म डाक्टर निजकै थिएँ। डाक्टरसा'बले अस्पतालको कार्ड देखाउनुभएको थियो। तर प्रहरीले झर्कँदै कार्ड खोसेर टाउकोमा दुई पटक हानिहाले। फेरि हान्न खोजेपछि मैले लठी समातेर छेकेँ। त्यसक्रममा मलाई ती प्रहरीले मदिरा सेवन गरेको थाहा भयो' उनले भने, 'मैले किन हाँनेको भनेर समेत ती प्रहरीलाई सोधेँ। तर उसले त गाडीमा हालेर लैजा यिनीहरुलाई पो भने।'
उनले आफूले देखेको घटनाका विषयमा जहाँ गएर पनि बताउन सक्ने जानकारी दिए।
चिकित्सकहरुले ती प्रहरीको मापसे जाँच गर्न पनि माग गरेका छन्।
बस्नेतले एसएसपी दानबहादुर कार्की र एसपी सिताराम रिजालसहितको प्रहरी टोली अगाडि नै प्रहरीले बिना कारण मदिरा पिएर डाक्टर माथि आक्रमण गरेको जानकारी दिएका हुन्।
प्रत्यक्षदर्शी र चिकित्सकहरुको कुरा सुनेपछि एसएसपी कार्कीले ती प्रहरीको कसुरका आधारमा कारबाही हुने बताए।
'घटना हुनु दुखद हो। यसमा प्रहरीको दोष छ। हामी घटनाको छानबिन गरेर दोषिलाई कसुरका आधारमा कारबाही गर्छौं' एसएसपी कार्कीले भने।
उनले प्रहरीका तर्फबाट गल्ती भएको पनि स्वीकार गरे।
चिकित्सकहरुले दोषिलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेका छन्।