काठमाडौं- सरकार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्न तयार भएको छ। आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ।
‘विशष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्न बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विश्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने। नेपाल सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने’, सहमतिपत्रमा उल्लेख छ।
गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउने र सम्बोधन गरेर फर्किने क्रममा अपनाइएको सवारी शैलीलाई लिएर आलोचना भइरहेको छ।
त्यक्रममा एक डाक्टर कुटिएका थिए। सरकारले त्यस घटनाको सन्दर्भमा वार्ता गर्न टोली गठन गरेको थियो। सवारी शैलीलाई लिएर प्रतिनिधि सभाको आइतबारको बैठकमा पनि विरोध भएको छ। नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले त्यस्तो शैलीका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नसकेको बताइन्।