काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा २०.२६ प्रतिशत मात्रै खर्च गरेको छ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउनदेखि पुससम्ममा कूल बजेट ६९ खर्ब ३८ करोड २ लाख विनियोजन भएकोमा १४ अर्ब ५ करोड ६७ लाख रूपैयाँ अर्थात् २०.२६ मात्रै खर्च गरेको उल्लेख गरिएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसद् बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार करिब १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको जानकारी पनि दिएका छन्।
यसअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को लागि कूल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।
उक्त बजेटमध्ये अर्धवार्षिक समीक्षामार्फत् पौडेलले चालू आर्थिक वर्षको बजेट १५ खर्ब ४९ अर्ब ९९ करोडमा सीमित गर्ने लक्ष्य प्रस्तुत गरेका हुन्।
यस्तै, बजेट खर्चमा चालूतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड खर्च हुने सुरुको अनुमान रहेकोमा मन्त्री पौडेलले संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन्।
त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड खर्च गर्ने सुरुको बजेट अनुमान रहेकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने अनुमान गरिएको छ। र वित्तीय व्यवस्थापनतर्फ सुरुमा २ खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन गरेकोमा संशोधनमार्फत मन्त्री पौडेलले २ खर्ब १४ अर्ब २१ करोड हुने अनुमान गरेका छन्।
मन्त्री पौडेलले राजश्व संकलनको लक्ष्य पनि कम गरेका छन्। कूल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ।
वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान छ। वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान छ।
आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने सुरुको लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य अर्धवार्षिक समीक्षामार्फत् गरिएको छ।