म नचलेको डाक्टर
विशेषज्ञ हुँ
योग्यता छ, सिप पनि
तर यी सबै भएर हुन्न प्रिय
म कुनै बिरासतवाला परिनँ
न कुनै धनी परिवारको
देश आखिर बोल्न जान्नेको
पिठो पनि बिक्ने देश हो यो प्रिय
कामभन्दा प्रोपोगन्डा नजानेको
अरुलाई गराएर काम मैले गरेको भन्ने
जस र प्रचार गर्न नजानेको
म न चलेको डाक्टर हुँ प्रिय
म तिमीलाई सुख दिन सक्दिनँ
तिमी खुसी हुन सक्नुपर्छ
महिनौंदेखि कहिलेकाहीँ
पारिश्रमिक पाउन कुर्नुपर्छ
त्यसैले तिमीले अरुसँग न दाँज आफूलाई
चलेकाहरुका श्रीमतीहरुले
पाएका महँगा उपहारका कुरा
मनमा नराख प्रिय
उनीहरु
चढेका महँगा कारहरु देखेर
मन नकुँड्याउ प्रिय
हामी पनि फुर्सद मिले थोत्रै भए नि
किस्ताबन्दीमा किनेको
त्यही मेरै मोटरसाइकलमा घुम्न जाउँला कतै
डाक्टर बन्नुको ब्यथा म सुनाउँला त्यतै।