काठमाडौँ- नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा विश्व स्ट्रोक दिवस मनाइएको छ।
अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको बताए ।
नेपालमा भने वर्षेनी स्ट्रोकबाट ५० देखि ७५ हजार मानिस प्रभावित हुने गरेको डा पौडेलको भनाई छ । उनले स्ट्रोक नसर्ने रोगहरुमध्ये विश्वको दोस्रो मृत्युको कारण बनेको बताए ।
डा पौडेलले स्ट्रोकलाई नियन्त्रण गर्न रक्तचाप र सुगरको मात्रा नियन्त्रण गर्नुपर्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्ने, धुम्रपान र मदिरापानलाई त्याग्नुपर्ने, दैनिक कम्तिमा ४५ मीनेट हिँड्नुपर्ने बताए ।
यस्तै, चिल्लो पदार्थ कम खाने, सागसब्जीको मात्रा बढाउने, नुनको प्रयोगमा ध्यान दिनुपर्ने डा पौडेलको भनाई छ । स्ट्रोक भएका विरामीलाई साँढे चार घण्टाभित्र अस्पताल लैजान सकिए पक्षघात हुनबाट बचाउन सकिने डा पौडेलले बताए ।
स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिने उनको भनाई छ । नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिने डा पौडेलले बताए । सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने डा पौडेलको भनाई छ ।
ग्राण्डीले गतवर्ष विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गरेको थियो ।
डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्रदान गरेको थियो । विश्व स्ट्रोक दिवसका अवसरमा आज ग्राण्डी अस्पतालमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।