काठमाडौं- नेपालका दुई युवा क्यान्सर रोग विशेषज्ञ डा. विवेक घोष र डा. रजनी झा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनीहरूले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (एस्मो) को ‘एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड २०२६’ प्राप्त गरेका हुन्।
स्पेनको म्याड्रिडमा अक्टोबर २३ देखि २७ सम्म आयोजित एस्मो कंग्रेस २०२६ का क्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो। विश्वभरबाट छनोट भएका २८ जना उदीयमान क्यान्सर रोग विशेषज्ञमध्ये नेपालका दुई चिकित्सक परेका हुन्। छनोट हुने चिकित्सकहरूमा अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, भारतलगायत देशका विशेषज्ञ पनि छन्।
क्यान्सर रोग विशेषज्ञहरूको विश्वकै प्रतिष्ठित संस्थामध्ये एक एस्मोबाट प्राप्त यो सम्मान नेपाली चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हो। क्यान्सरको बढ्दो भार, सीमित स्रोतसाधन र अनुसन्धानका अवसरको अभावजस्ता चुनौतीबीच नेपाली चिकित्सकले प्राप्त गरेको यस सफलताले नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
डा. विवेक घोष विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत छन्। उनले भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट रेजिडेन्सी पूरा गरेका हुन्। त्यसपछि उनले क्यानडाको क्यान्सरकेयर मनिटोबाबाट फेलोसिप गरेका छन्। उनी नेपालमा गुणस्तरीय क्यान्सर उपचार सेवा विस्तार गर्न सक्रिय छन्।
त्यस्तै, डा. रजनी झा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन्। उनले बंगलादेशको ढाकास्थित बङ्गबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू) बाट अंकोलोजीमा रेजिडेन्सी पूरा गरेकी हुन्। उनी क्यान्सरको उपचारसँगै नेपाली समुदायमा यस रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पनि संलग्न छिन्।
दुवै चिकित्सक नेपालमै रहेर क्यान्सर उपचार सेवामा सर्वसाधारणको पहुँच बढाउन तथा देशभर गुणस्तरीय सेवा विस्तार गर्न सक्रिय छन्। अन्तर्राष्ट्रिय स्तरको शिक्षा र तालिम हासिल गरेका उनीहरूले आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य सेवाको सुधारमा उपयोग गर्ने लक्ष्य राखेका छन्।
एस्मोको यो अवार्डले नेतृत्व विकास, अनुसन्धान क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्यका अवसर उपलब्ध गराउँछ। प्राप्त अवसरलाई उपयोग गर्दै दुवै चिकित्सकले नेपालको आवश्यकता र परिस्थितिअनुकूल प्रमाणमा आधारित अनुसन्धान तथा परियोजनामा काम गर्ने योजना बनाएका छन्।
उनीहरूको अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यले नेपालमा क्यान्सर उपचार सेवालाई प्रभावकारी बनाउन, बिरामीको उपचारमा पहुँच विस्तार गर्न तथा राष्ट्रिय क्यान्सर नीति निर्माणका लागि आवश्यक प्रमाण जुटाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।