काठमाडौं- नेपाल रेडियोलोजिकल सोसाइटी (एनआरएस) का अध्यक्ष मुकेश कुमार झा ‘इन्टरनेसनल सोसाइटी अफ रेडियोग्राफर्स एन्ड रेडियोलोजिकल टेक्नोलोजिस्ट्स’ (आईएसआरआरटी) को क्षेत्रीय जनसम्पर्क तथा सञ्चार संयोजक पदमा निर्वाचित भएका छन्।
झा सन् २०२६–२०३० कार्यकालका लागि उक्त पदमा निर्वाचित भएका हुन्।
प्रतिस्पर्धात्मक विश्वव्यापी निर्वाचन प्रक्रियामार्फत नेपाली मेडिकल इमेजिङ क्षेत्रका व्यावसायिक नेतृत्वकर्ताले अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्नु नेपालको रेडियोग्राफी पेसाका लागि महत्त्वपूर्ण उपलब्धि भएको झाले जानकारी दिए।
यस उपलब्धिले नेपालको रेडियोग्राफी समुदाय र अन्तर्राष्ट्रिय व्यावसायिक संस्थाहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै ज्ञान, सीप, अनुभव र प्रविधिको आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको झा बताउँछन्।
नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्षका रूपमा झाले लामो समयदेखि नेपाली रेडियोलोजिकल पेसाकर्मीहरूको हकहित, व्यावसायिक विकास तथा पेसागत मर्यादा अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।