काठमाडौं- नेपालमा ट्रान्स फ्याट अर्थात् अति खराब चिल्लो (अखचि) को नियन्त्रण सम्बन्धी कानुन आवश्यक रहेको सरोकारवालालले बताएका छन्।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्यका निम्ति निकै घातक मानिएको ट्रान्स फ्याट नियन्त्रण गर्न कानुन आवश्यक रहेकोमा जोड दिएका हुन्।
प्रतिष्ठानका कार्यक्रम निर्देशक एंव वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले ट्रान्स फ्याटले मुटुजन्य रोग बढाउँदै लगेको बताए। युवाहरुमा हृदयघातको समस्या बढ्नुमा ट्रान्स फ्याट एक प्रमुख कारण रहेको उनले बताए।
उनले भने, ‘ट्रान्स फ्याट मन्द विष हो। थाहा नपाउने तरिकाले युवाहरुमा हृदयघात बढ्दै गइरहेको छ। र, यसको पछाडी ट्रान्स फ्याट एक महत्वपूर्ण कारण हो।’
सरकारले नसर्ने रोगहरु नियन्त्रणको बुहपक्षिय कार्य योजना २०२१ – २०२५ जारी गरेको छ। जसमा नेपालमा खाद्य पदार्थमा २ प्रतिशत वा सो भन्दा कम मात्र औद्योगिक ट्रान्स फ्याटको मात्रा कायम गर्नुपर्ने उल्लेख छ। सोही नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि कानुन आवश्यक भएको उनले बताए।
प्रतिष्ठानका डा प्रेम राज वैद्यले विश्वमा ट्रान्स फ्याटको सबैभन्दा धेरै प्रयोग हुने १० वटा देशहरुमध्ये नेपाल पनि एक रहेको जानकारी दिए। ट्रान्स फ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै खराब कोलेस्ट्रोल बढ्ने, मोटपन, उच्च रक्तचाप, मधुमेह समस्या बढाउने गरेको छ। जसका कारण निम्न र मध्यम आय भएका देशरुमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको उनले बताए।
सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम बनाउने विश्व स्वास्थ्य संगठन डब्लुएचओ को लक्ष्य छ। हालसम्म विश्वका ४५ भन्दा बढी मुलुकहरुले नीति, कार्यक्रम र कानुनी प्रावधान मार्फत उक्त लक्ष्य प्राप्त गरेको र नेपालमा पनि सोही किसिमको कानुनको आवश्यकता रहेकोमा प्रतिष्ठानको जोड छ।
डा वैद्यले भने, ‘कुनै पनि रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न नीति र कार्यक्रम मात्र भएर पुग्दैन। यसका लागि कानुनी प्रावधान पनि आवश्यक पर्छ।’
सरकारले नियम तोड्नेलाई दण्ड सजायको व्यवस्था नगरेसम्म ट्रान्स फ्याट नियन्त्रणको नीति र कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुने प्रतिष्ठानको भनाई छ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले होटल तथा रेष्टुरेण्टमा प्रयोग हुने तेलको गुणस्तर अनुगमन गर्ने गरेको बताए। जसमा खाना पकाउन प्रयोग गरिएको तेलको गुणस्तर जाँच्न टीपीएम परीक्षण गर्ने गरेको जानकारी दिए। २५ प्रतिशतभन्दा भन्दा ट्रान्स फ्याट भएका रेष्टुरेण्टलाई कारबाही गर्ने गरिएको उनले बताए। परीक्षणका क्रममा अधिकतम ५० प्रतिशतसम्म टीपीएम भएको पाइएको उनले जानकारी दिए।
नेपालमा पनि खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानुन बनाउन प्रतिष्ठानले दुई वर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।