चितवन - ‘बिरामी मार्न पाईँदैन, हामीलाई न्याय चाहिन्छ
जे गर्न पर्छ गर्ने हो, आज गर्न पर्छ अहिले गर्ने हो’
सोमबार दिउँसो करिब १ बजे भरतपुर अस्पतालको प्राङ्गणमा गुञ्जिएको नारा हो यो। स्त्री तथा प्रसुती र बालरोग अन्तरङ्ग विभाग अगाडी बिरामीहरुले यो नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।
कारण थियो – प्रसूति गराउने क्रममा सुत्केरीको मृत्यु हुनु।
चिकित्सकको लापरबाहीले कालिका नगरपालिका २ की ३४ वर्षीया संगीता विकको मृत्यु भएको भन्दै उनका आफन्तले नाराबाजी सहित विरोध गरेका थिए।
‘यहाँ बाँच्नको लागि आउने हो, मर्नको लागि आउने’ भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरिहेका थिए। त्यहाँ उपस्थित प्रहरीलाई पनि भीड व्यवस्थापन गर्न र बिरामीलाई सम्झाउन समस्या भइरहेको थियो। आक्रोश र पीडाका मिश्रित आवाजहरु त्यो भीडबाट आइरहेको थियो।
सुत्केरी गराउन मृतक संगीता कार्तिक २० गते भरतपुर अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना हुँदासम्म बच्चाको धड्कन चलिरहेको आफन्तको दाबी छ। तर आमा संगीताको तल्लो पेटमा भने घोच्ने, दुख्ने जस्ता समस्या भएको छोरी नविना सुनारले बताइन्।
‘ममीलाई तल पेटनिर घोच्ने, दुख्छ भन्नु भएको थियो। एकछिनमा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा राम्रो छ। चलिरहेको छ भन्नु भएको थियो। मैले पनि हेरेको बच्चा चलिरहेको थियो। पछि अपरेशन गर्न लैजाने भन्नुभयो। फेरि भिडियो एक्सरे गरेर हेर्दा बच्चाको धड्कन नै चलेको छैन भन्नुभयो,’ उनले भनिन्।
आमा संगीतालाई वार्डमा सारेपछि व्यथाले च्यापेको उनले बताइन्। व्यथाले च्यापेपछि अस्पतालको नर्सहरुलाई बोलाउँदा पनि नआएको उनको गुनासो छ। आमालाई सास फेर्न गाह्रो भएपछि मात्र चिकित्सकहरु आएको उनले बताइन्। गर्भमा मरेको बच्चा तत्काल अपरेशन गरेर निकालेको भए संगीतालाई बचाउन सकिने मृतकका आफन्तहरुले बताएका छन्। अस्पताल र चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आफन्तको आरोप छ।
तत्काल सर्जरी गरेको भए झन् बढी जोखिम हुन्थ्यो - चिकित्सक
यता अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले भने बिरामीको मृत्यु चिकित्सकीय लापरबाहीले नभएको दाबी गर्छन्।
उनका अनुसार संगीताको पाठेघरबाट पानी बगेर प्रसूतिका लागि कालिका नगरपालिकाबाट भरतपुर अस्पताल रिफर गरिएको थियो। अस्पताल भर्ना गर्दा सुरुमा सबै ठिक भएपनि बच्चाको मुटुको चालमा समस्या देखिएकाले गर्भमै बच्चाको मृत्यु भएको उनले बताए। तर आमाको अवस्था भने भर्ना हुने दिनसम्म नै ठिक रहेको उनले बताए। तर अस्पताल भर्ना भएको भोलिपल्टबाट आमाको पनि मुटुमा समस्या देखिएकोले तत्काल अपरेशन गर्न नमिलेको उनले बताए।
‘हाम्रो तर्फबाट कुनै लापरबाही भएको छैन,’ उनले भने, ‘उनको मेडिकल कन्डिसन नै यस्तै थियो। बच्चा मरेपनि तत्काल अपरेशन गरेर निकाल्न सक्ने अवस्था थिएन। उनको मृत्यु चिकित्सकीय लापरबाहीले नभई अचानक हुने कारणले भएको हो।’
अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले संगीताको हकमा तत्काल अपरेशन गर्न नमिल्ने भएकाले नर्मल डेलिभरीको प्रयास गरिएको बताएका छन्। बिरामीलाई बचाउने उद्देश्यले नै प्रोटोकल अनुसार औषधि प्रयोग गरी नर्मल डेलिभरिका लागि प्रयास गरिएको उनले बताए। उनको मृत्यु चिकित्सकको लापरबाहीले नभई मुटु र फोक्सो जोड्ने नसामा रगतको डल्लोले थुनेर भएको उनले बताए।
‘बच्चा मरिसकेपछि पनि आमाको सर्जरी गरेको भए मृत्युको जोखिम बढी हुन्थ्यो। यस्तो बेला हामीले नर्मल डेलिभरी नै ट्राइ गर्ने हो। अपरेशन गर्दा झन् रगत जम्ने, रगत धेरै जाने जोखिम हुन्थ्यो।’ उनले भने
बच्चाको गर्भमै मृत्यु भएपनि आमाले नै प्राकृतिक रुपमा बल गरेर निकाल्नुपर्ने उनले बताए। बच्चा आफैँ बल गरेर बाहिर निस्कने नभई व्यथा लागेपछि पाठेघर खुम्चेर आमाले शिशुलाई जन्म दिने गरेको उनले स्पष्ट पारे। बिरामीहरुले आरोप लगाए जसरी संगीताको म्यासीभ पल्मोनरी थ्रम्बोइम्बोलिज्म भएकाले तत्काल अपरेशन गर्न नमिलेको उनले बताए।
‘बच्चा आफैँ बल गरेर बाहिर निस्कने होइन। बच्चा गर्भमै मरेको भएपनि आमा आफैँले बल गरेर बच्चा बाहिर निकाल्ने हो। तर संगीताको हकमा मुटु र फोक्सोमा रगत जम्ने समस्या भएकाले तत्काल अपरेशन गर्न मिल्दैन थियो।’ उनले भने।
घटनापछि भरतपुर अस्पतालले कार्तिक २४ गते जारी गरेको विज्ञप्तिमा पनि बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नदेखिएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संगीताको गर्भमा रहेको बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधि प्रयोग गरी सामान्य प्रसूति प्रक्रिया सुरु गरिएको थियो। प्रसूति क्रममा पाठेघरको मुख पाँच घर खुलिसकेको बेला अचानक बिरामी बेहोस भएकी थिइन्।’
त्यसलगत्तै तत्काल कार्डियो पल्मोनरी रिससीटेसन (सीपीआर) गरी एमआईसीयुमा सारिए पनि मुटु र फोक्सो जोड्ने नसामा रगतको डल्ला जमेर (म्यासिभ पल्मोनरी थ्रम्बोइम्बोलिज्म) मुटुले रगत पम्प गर्न नसक्दा मृत्यु भएको जनाइएको छ। आमाको अचानक मृत्यु हुने कारणमध्ये यो पनि एक प्रमुख कारण रहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालका चिकित्सकले करिब साढे दुई घण्टासम्म ज्यान बचाउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
मृतकका परिवारलाई रोजगारी दिने सहमति
सोमबार दिउँसो दिनभर नाराबाजी गरेका मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति जुटेको छ। मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिने भएपछि आफन्तले शव बुझ्ने सहमति गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो।
योसँगै मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनको तर्फबाट सहयोग उपलब्ध गराउने, घटनाको निस्पक्ष छानबिनका गरी दोषि माथि कारबाहीको लागि नेपाल मेडिकल काउन्सिलमा अनुरोध गरी पठाउने सहमति पत्रमा हस्ताक्षर भएको छ।
‘हामीले सुरुबाटै भन्दै आएका छौँ। यसमा अस्पतालको लापरबाही र गल्ती छैन,’ मेसु पौडेलले भने, ‘छलफलमा उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई रोजगारी दिने कुरा आएपछि हामीले पनि सहमति जनाएका हौँ।’