स्वास्थ्य सेवा दिवस २०७९ यस वर्ष 'दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा' भन्ने नाराका साथ आज मनाइँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ फाल्गुन १५ गते जारी भएको थियो, सोही दिनको सम्झनामा हरेक वर्ष यो दिन स्वास्थ्य सेवा दिवस मनाउने गरिएको छ। यो सेवा अन्तर्गत झन्डै ३५ हजार स्वास्थ्यकर्मी कार्यरत रहेका छन्। स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम, सुदृढ, सेवामुलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धी व्यवस्था गर्न वान्छनीय भएकोले भनि स्वास्थ्य सेवा ऐन २०५३ को प्रस्तावनामा उल्लेख गरिएको छ। यसरी उल्लेख गरिनुले स्वास्थ्य सेवालाई सक्षम, सुदृढ जनउत्तरदायी बनाउँदै जनताको अत्यास्यक सेवाको रुपमा जोड दिएको छ। यस वर्षको नाराले पनि दक्ष जनशक्ति भयो भने गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ अनि मात्र नेपाल निरोगी बन्न सक्छ भन्ने कुरामा जोड दिएको पाइन्छ।
प्रत्यक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुने छ भनि जनस्वास्थ्य ऐन २०७५ को दफा ३ मा व्यवस्था भएको छ। जसअनुसार गुणस्तरीय स्वास्थ्य सेवा सहज ढंगले सर्वसुलभ रुपमा नागरिकले पाउनु पर्छ भने सेवा प्रदायकले दिनुपर्छ। त्यसका लागि सेवाग्राही नागरिक, सेवा प्रदायक राज्य जिम्मेवार र जवाफदेही हुनुपर्छ।
यस बीचमा स्वास्थ्य सेवामा सुधारका लागि धेरै समिति र कार्यदल गठन भई विभिन्न नीति नियम निर्देशिका कार्ययोजना रणनीतिहरु कार्यनयनमा आए। यद्यपि स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था र जनशक्तिबाट प्रदान गरिएको सेवा वा कार्यमा सेवाग्राहीबाट सन्तुष्ट बन्न नसकिरहेका गुनासा बारम्बार नआएका भने होइनन्। गुनासोसँगै सेवा प्रदायक र सेवाग्राही बीच केही छिटपुट घटना समेत घटिरहेका मात्र छैनन् दिन दिनै बढिरहेका छन् भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को प्रभाकारी कार्यनयन हुन सकिरहेको छैन।
स्वास्थ्य विकासको पहिलो खुड्किलो हो। विश्व स्वास्थ्य सङ्गठनले रोग र सङ्क्रमणबाट मात्र मुक्त हुनु स्वास्थ्य होइन सामाजिक, मनोवैज्ञानिक, भौतिक तीनै पक्ष स्वस्थ हुनुलाई स्वास्थ्य हो भन्छ। तर आधुनिक रुपमा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रुपमा अब्बल रहनु नै स्वास्थ्य हो भनेर भन्ने गरिन्छ। स्वास्थ्य सेवा जति सहज सक्षम र गुणस्तरीय बन्न सक्छ, त्यति नै राष्ट्रले गति लिन सक्छ। स्वास्थ्य सेवाको कामलाई सेवा प्रदायक संस्था र जनशक्ति जिम्मेवारी भएर कार्य गरि जनताले समेत गर्व गर्न लायक स्वास्थ्य सेवा बनाउन सक्नु नै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहन्छ।
सेवा प्रदायक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको कोरोना बिमाको भुक्तानी राज्यले दिन सकेको देखिँदैन जसका कारण कोभिड-१९ जस्ता भयानक रोगसंग आफू र आफ्नो परिवरको ज्यान जोखिममै राखेर अरुको ज्यान जोगाउन २४सै घण्टा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिरेको छ यो गिरेको मनोबल उच्च राख्नु राज्यको दायित्व हो। जब स्वास्थ्यकर्मीको मनोबल उच्च हुन्छ तब उसले दिने सेवा पनि उच्च हुन्छ।
स्वास्थ्य सेवा अन्तर्गत कार्यरत थुप्रै चिकित्सक र स्वास्थ्यकर्मी २४सै घण्टा जतिखेर पनि बिरामीको उपचारमा आउनुपर्ने, अस्पताल लगायत स्वास्थ्य केन्द्र जानुपर्ने हुँदा उनीहरुलाई यातायात वा सवारीसाधनको सुबिधा पर्याप्त मात्रामा उपलब्ध गरेको देखिँदैन जसका कारण सार्बजनिक यातायात वा अन्य विकल्पहरु प्रयोग गर्दा समयको कारण बिरामीको उपचारमा अप्रत्यक्ष रुपमा अप्ठ्यारो परेको देखिन्छ।
चिकित्सक वा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्थापन नहुँदा आफू कार्यरत स्वास्थ्य संस्थामा जतिसक्दो धेरै समय दिन सक्ने अवस्था देखिँदैन। यदि अस्पतालमै वा छेउछाउ आवासको व्यवस्थापन गर्न सके सबै विशेषज्ञ सेवा बढी मात्रामा सर्वसाधारणले पाउने सम्भावना देखिन्छ त्यो राज्य र सर्वसाधारण दुबैलाई सहज हुने विषय हो।
रातिमा डिउटी गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीलाई सोहि अनुरुपको सेवा सुविधा उपलब्ध गर्न सकिएको देखिँदैन जसबाट बिरामीले सेवा प्रदायक खुशी हुँदै सेवा पाएको अबसर गुमेको छ, मुस्कान सहितको सेवा भन्ने नारा नारामै सिमित देखिन्छ। स्वास्थ्य संस्थामा बेला बेलामा रिफ्रेसमेन्ट र मोटिभेसनल कक्षाहरु संचालन गर्नु पार्ने देखिन्छ। जसले गर्दा स्वास्थ्यकर्मीको कार्यक्षमता बढ्न गई कार्यकुशलता र सेवामा सहजता कायम राख्न सकिन्छ जसको प्रभाव सेवाग्राहीमा पर्न जान्छ।
दुर दराजका नेपाल सरकार भनेर चिनिने स्वास्थ्य संस्थाहरुले जसरी सेवा दिइरहेका छन् त्यसको उचित मुल्यांकन गरिने गरेको देखिँदैन, दुर्गमका स्वास्थ्यकर्मी ब्लड बैंक हुन्, बिरामीलाई रगत चाहिएमा आफैँ दिन्छन्। उनीहरु एम्बुलेन्स हुन् बिरामीलाई घर देखि स्वास्थ्य संस्थामा आफैँ बोकेर ल्याएर उपचार गरेर घर पुर्या्उँछन्। खोप लगाउन एक्लै भिर, पाखा, बाढी, पहिरो, असिना पानी, हावा हुन्नरी, हिँउ छिचोल्दै समयमै बालबालिकालाई खोप लगाउँछन्। तर यसरी कार्य गर्ने स्वास्थ्यकर्मी न त कतै पुरस्कृत हुन्छन् न त कुनै विभूषित हुन्छन्। उनीहरुलाई प्रोत्साहन गर्न सकिएको छैन, प्रोत्साहन गर्न सके स्वास्थ्यका सूचक राम्रो भइ स्वास्थ्य सेवामा जनाताले विकसित भएको अनुभव गर्ने थिए।
नेपालको भौगोलिक कठिनाइका कारण सबै सर्बसाधारणको पहुँच स्वास्थ्य संस्थामा पुग्न सकेको देखिँदैन। यस्ता स्वास्थ्य संस्थाको उचित स्थान र तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव अहिले पनि धेरै छ। जसका कारण बाटोमा बच्चा जन्माउन बाध्य आमाहरुको दयनीय अबस्था, उनको स्वास्थ्य स्थिति र आमा बच्चाको स्वास्थ्यको सुरक्षा देखिँदैन। यसको उचित व्यवस्थापन नगरेसम्म आमा र बच्चाको लागि भनेर गरिएको अरबौं खर्च बालुवामा जाने देखिन्छ।
स्वास्थ्य सेवा यति संवेदनशील हुन्छ कि चाहिएको बेला, चाहिएकै ठाउँमा उचित समय भित्र सेवा नपाए ज्यान जान सक्छ। तर नागरिकता, राहदानी, विवाह दर्ता, जन्म दर्ता, लगायतका सेवाहरु भने भोलि वा आफूलाई सहज भएको दिनमा पनि लिन सकिन्छ। स्वास्थ्य सेवा अचानक लिनु दिनु पार्ने हुन्छ त्यस कारण घर घरमा सिंहदरबार होइन घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता छ किनकी कुनै पनि कारण दुर्घटना वा बिरामी परेको मान्छेको उपचार दुई चार दिनपछी गरौंलानी भन्न मिल्दैन।
स्वास्थ्य क्षेत्रमा अब नयाँ अवधारणाको थालनी गर्नु पार्ने देखिन्छ। पहाड वा दुर्गम क्षेत्रमा सरकारी तवरबाट स्वास्थ्य सेवामा बढी लगानी गरेर शहरी क्षेत्रमा निजी क्षेत्रलाई लगानी बढाउने अवसर दिनु पर्छ। मतलब विशेषज्ञ अस्पताल र दीर्घ रोगहरुको उपचार गर्ने आस्पतालहरु पहाडतिर र सामान्य उपचार गर्ने स्वास्थ्य संस्थाहरु शहर केन्द्रित हुनु पर्छ जसको कारण तराई वा शहर बजारको कोलाहलबाट टाढा रहेर क्यान्सर लगायत दीर्घ रोगको उपचार स्वस्थ हावापानीमा बसेर उपचार गरेर मुलको पानी खाएर अर्गानिक खाने कुरा खाएर निको भएर तराई वा शहर झरोस्। यसले दीर्घकालीन रुपमा स्वास्थ्य सेवामा सहजता कायम गर्न सकिन्छ।
स्वास्थ्य सेवा विशिष्टकृत भएकाले राज्यले यसलाई अत्यावश्यक सेवाको रुपमा संचालन गर्ने भनिए पनि सोहि अनुसार व्यवस्थापन गर्न सकेको देखिँदैन, अस्पतालमा आउने सेवाग्राही खुसी भएर छिटो छरितो सेवा लिई निको भएर जाने अवस्था कम भई जताततै लाइन र झन्झटिलो अवस्था देखेर दु:खका साथ सेवा लिइरहेको पाइन्छ। यसका लागि संघीय अस्पताललाई खिचडी जस्तो नबनाई प्रत्येक अस्पतालमा आवस्यकता अनुसार जनशक्तिको र स्वास्थ्यकर्मीको भरपुर व्यवस्थापन गरी अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सहज र सरल ढंगबाट उपचार पाउने स्मार्ट व्यवस्था गर्न सकिन्छ।
अस्पतालमा भिडियो एक्स रे, सिटी स्क्यान, एमआरआइ, अपरेसन लगायत स्पेसियल जाँचहरु गर्न कुर्नु नपर्ने व्यवस्थापन गर्न सक्नु पर्छ। यसलाई निजी स्वास्थ्य संस्थालाई समेत प्रोसाहन गर्ने व्यवस्थापन गर्दै जानु पार्ने देखिन्छ। साथै स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै विस्तार गर्दै लानु पर्ने देखिन्छ। भने सबै स्वास्थ्य बिमाको पहुँच भित्र पर्नु पार्ने देखिन्छ।
एउटा बिरामी अस्पताल छिरेपछि त्यसको उपचार निको नहुन्जेल वा रेफर नहुन्जेल सम्पूर्ण काम अस्पताल स्वयम्ले गर्ने गरी व्यवस्थापन गर्नु जरुरी छ। जब बिरामी अस्पतालको इमर्जेन्सीमा पुग्छ अनि टिकट काट्न जानु पर्छ त्यहाँ लाइन हुन्छ, पैसा तिर्न गयो लाइन हुन्छ, रगत दिन गयो लाइन, रिपोर्ट लिन गयो लाइन। जताततै लाइनै लाइनबाट मुक्त नभएसम्म स्वास्थ्य सेवाको दिवसको औचित्य देखिँदैन।
यस्ता तमाम समस्याको समाधान सहित स्वास्थ्य सेवाको पुनर्संरचना, पुनर्व्यवस्थापन, भौतिक संरचनाको निर्माण र कार्यशैली परिवर्तन गरी जनताले सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएको अनुभूती नगरुन्जेल स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता देखिँदैन र प्रस्तावनामा उल्लेख भएका कुरा पूर्ण हुँदैनन्। यासकालागी नेपाल सरकार, अन्तर्राष्ट्रिय संघ संगठन, सम्बन्धीत निकाय सरोकारवाला सबै, राजनीतिक दल, पत्रकार र आम नागरिक सबै सचेत हुनु जरुरी छ।
(लेखक नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य हुन्।)