काठमाडौं–नेपाल चिकित्सक संघले अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको छ। हिमाल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमार्फत शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको हो।
संघका महासचिव डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै माघ २६ गतेका दिन नाबालिका प्रशंसा गौतमको मेट्रो अस्पतालमा असामयीक मृत्यु भएको घटनाका सम्बन्धमा फागुन १० गते हिमाल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सुरुमा हिमाल अस्पतालमा गरिएको उपचारका सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया सुरु गरिसकेको अवस्थामा प्रत्येक दिन अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा जम्मा भई नाराजुलुस गर्ने, अन्य बिरामीहरुको उपचार प्रक्रियामा खलल पुऱ्याउने तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई मानसिक तनाव सिर्जना गरिएको घटना अत्यन्तै अस्वाभाविक भएको नेपाल चिकित्सक संघको ठहर छ।
साथै नेपाल मेडिकल काउन्सिलको छानबिन प्रक्रियाबाट हुने निर्णयलाई नेपाल चिकित्सक संघ तथा सरोकारवालाहरुले सहर्ष स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई शान्तिपूर्ण रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण अबिलम्ब तयार गर्न संघले नेपाल सरकार तथा सुरक्षा निकाय समक्ष माग गरेको छ।