विश्व श्रवण दिवस वर्षेनी रुपमा मनाईदै आएको छ। कानको रोग सम्बन्धी जानकारी र रोगबाट कसरी बच्न सकिन्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ। विश्वमा सन् २०५० सम्म चार जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने अनुमान गरिएको छ। अहिले भने पाँच जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने देखिएको छ। जुन सन् २०५० सम्ममा अझ बढ्ने अनुमान छ। यत्ति धेरै आम समस्या हो यो।
ध्वनिले गर्दा १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरुमा ध्वनिले बहिरोपनको समस्या निम्त्याइरहेको छ। यो उमेर समूहका करिब १५ देखि १७ प्रतिशत व्यक्तिलाई आवाजले कुनै न कुनै रुपमा बहिरोपनको समस्या निम्त्याइरहेको डब्लुएचओले बताएको छ। जति पनि बहिरोपनको समस्या छ, उनीहरुको समयमै उपचार भए ६० प्रतिशत मानिस बहिरोपनबाट बच्न सक्थ्यो। बहिरोपनको समस्या बढ्नु भनेको सरकारलाई पनि आर्थिक भार बढ्नु हो। चाहे यसको परीक्षण होस्। उपचारमा होस्। कुनै न कुनै किसिमबाट त आर्थिक भार बढ्न भयो। जुन समस्या समयमै उपचार भयो भने त ६० प्रतिशतलाई त बचाउन सकिन्छ। यो विश्व श्रवण दिवसको मुख्य उद्देश्य भनेकै बचाउन सकिने यही ६० प्रतिशतलाई केन्द्रित हुने हो। कतिपयको समस्यालाई रोकथाम गर्न नसकिएपनि यो ६० प्रतिशतलाई बहिरोपनबाट बचाउन सक्छौ।
बहिरोपन के कारण हुन्छ?
बहिरोपन हुनुको विभिन्न कारणहरु छन्। वंशाणुगत कारण छन्। जसलाई रोक्न सकिएन। बच्चा पेटमा हुँदा आमाले प्रयोग गर्ने विभिन्न औषधिले पनि बच्चामा बहिरोपनको समस्या आउन सक्छ।
बच्चा जन्मिने बित्तिकै विभिन्न संक्रमण भए, आइसीयूमा राख्नुपर्ने बच्चाहरुमा प्रयोग गर्ने विभिन्न औषधिले पनि कानमा समस्या ल्याउन सक्छ। बच्चा जन्मिसकेपछि रुघा लाग्दा पनि हुन सक्छ। सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने खोपबाट बञ्चित बालबालिकामा पनि कानको समस्या देखिन सक्छ। सबै खोप नपाउँदा बालबालिकामा विभिन्न किसिमको रोगहरु लाग्न सक्छ। ती मध्ये कुनै न कुनै रोगले कानमा असर गर्न सक्छ। त्यसैले बच्चाहरुलाई पूर्ण खोप लगाउनुपर्छ। धेरै होहाल्ला भएको ठाउँमा हुर्कने बालबालिकाको कानमा समस्या हुन सक्छ। बारम्बर बच्चाहरुमा रुघा लाग्दा पनि हेलचक्र्याई गर्यो भने कान पाक्न सक्छ।
उमेर अनुसार सुनाई शक्ति पनि कम हुँदै जान्छ। अहिले धेरै लामो समयसम्म हेडफोन लगाएर गीत सुन्ने, फिल्म हेर्ने चलन बढेको छ। लामो समयसम्म हेडफोनको प्रयोग गर्दा पनि कानमा असर गर्छ। ठूलो आवाजमा हेडफोन लगाएर सुन्छौ भने अवश्य पनि त्यसले कानलाई खराब गर्छ।
अहिलेको स्मार्टफोनमा आवाजलाई सीमित बनाउने एप्स नै उपलब्ध छन्। एप्स छैन भने पुरा आवाजको ६० प्रतिशतभन्दा बढी नबढाउने। लामो समयसम्म हेडफोन सुन्नुपर्ने बाध्यता छ भने बिच बिचमा ब्रेक गर्नुपर्छ। लगातार हेडफोनको प्रयोग राम्रो होइन। मधुमेह भएका व्यक्तिमा पनि सुनाई शक्ति गुम्न सक्ने जोखिम अरुमा भन्दा धेरै हुन्छ।
कसरी बच्ने?
गर्भमा बच्चा भएका महिलाहरुले जथाभावी औषधिको सेवन गर्नु हुँदैन। केही स्वास्थ्य समस्या हुने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ। घरमा भन्दा स्वास्थ्य संस्थामै शिशु जन्माउनुपर्छ। शिशु जन्मिएपछि समयमै पूर्ण खोप लगाउनुपर्छ। बच्चाहरुमा भइरहेको रुघाखोकीलाई अभिभावकले बेवास्ता गर्नु भएन। रुघा लाग्ने बित्तिकै उपचार गर्नुपर्छ। बहिरोपनको उपचार नै छैन भन्ने हुँदैन। बहिरोपनको उपचार समस्या र अवस्था अनुसार पनि फरक पर्छ। कानको जालीमा प्वाल परेर समस्या भएको छ भने जाली बनाउन सकिन्छ। कानको उपचारमा अहिले धेरै नवीनतम प्रविधिहरु भित्रिसकेका छन्। कानको नशा नै सुकेको छ भने श्रवण यन्त्र राख्न सकिन्छ। धेरै उपचार विधिहरु छन्। सबै उपचार विधिबाट पनि संभव नभए पुर्नस्थापना गर्न सकिन्छ। धेरै बच्चाहरुलाई एकै ठाउँमा राख्नु हुँदैन। एउटा बच्चालाई लागेको रुघा अर्को बच्चामा सर्न सक्छ। बच्चाहरुलाई पोषणयुक्त खानेकुरा खान दिनुपर्छ। समयमै समस्याको निदान हुन सके उपचार संभव छ। सरकारले पनि कान सम्बन्धी उपचार र श्रवण यन्त्रलाई श्रवण सुलभ बनाउन आवश्यक छ।
(त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)