हरेक बच्चाले खोप लिई खोपजन्य रोगबाट मुक्त हुनुपर्छ उदेश्य बिपरित दादुरा संक्रमण प्रकोपको रुपमा फैलिरहेको छ। मिजल्स अर्थात् दादुरा एक अत्यधिक संक्रमणकारी भाइरल संक्रमण हो। दादुरा रोक्न सकिने जनस्वास्थ्य समस्या हो। पूर्ण खोप नलगाउँदा विशेषगरी बालबच्चाहरुमा यसको संक्रमण देखिरहेको छ। मिजल्स भाइरसद्वारा हुने यो रोग विशेष बच्चाहरूलाई प्रभावित गर्दछ। दादुरा–रुबेला रोगको विशेष उपचार नभएकोले यसविरुद्ध दादुरा–रुबेला खोप लिनु नै यो संक्रमणको रोकथाम हो।
रोगको अवस्था
विश्व स्वास्थ्य संगठन अनुसार दादुरा रोक्ने खोप हुदाँहुँदै सन् २०१८ मा विश्वभरी १४ लाख भन्दा बढी बच्चाहरुको मृत्यु भएको छ। नेपालको आठवटा जिल्लामा भएको एक जर्नल अनुसन्धान अनुसार सन् २०२० मा २२० वटा नयाँ केस र दुइ जनाको मृत्यु भएको देखाएको छ।
उक्त जर्नलमै प्रकाशित आनन्द जोसीको समूहले नेपालको ३७ वटा जिल्लामा गरेको अनुसन्धानको प्रतिवेदन अनुसार सन् २००४ मा ४६५७ वटा केश र ६४ जना को मृत्यु भएको पाएको थियो।
सुनसरीमा दादुरा
कोशी प्रदेश, सुनसरी जिल्लास्थित बर्जु गाउँपालिकामा दादुरा प्रकोप फैलिएको छ। गत माघ २४ गते सात महिनाको बच्चालाई देखिएको थियो। करिब २० दिनको अवधिमा गाउँपालिका भित्रमा २९ जनालाई दादुरा प्रकोप देखापरेको हो। जिल्ला स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईले एउटा पालिकाभित्र पाँच जना भन्दा बढी संङ्यामा रोग देखा परे प्रकोप फैलिएको मानिने बताए। उनले संक्रमित फेला परेको बच्चाको घरमा परीक्षण गर्दा अन्य ब्यक्तिलाई पनि देखा परेको छ।
खोपको अवस्था
विश्व बैंकको डाटा अनुसार दक्षिण एशियामा दादुरा रुबेला खोप लगाउने सबै भन्दा बढी माल्दिभ्समा ९९ प्रतिशत, बंगलादेश र भुटानमा ९७ प्रतिशत, भारतमा ८९ प्रतिशत, नेपालमा ९० प्रतिशत छ भने सबैभन्दा कम अफगानिस्तानमा ६३ प्रतिशत रहेको छ। तुलनात्मक रुपमा खोपको कभरेज घट्दो देखिएकोले सबै मिलि यसलाई बढाउनुपर्ने देखिन्छ।
सर्ने तरिका
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरि फैलिन्छ। संक्रमण भएको सतहमा अन्य स्वस्थ मानिसले स्पर्श गर्दा संक्रमणलाई फैलाउन सक्दछ। दादुरा भएको सास फेर्दा, खोक्दा वा हाच्छ्यूँ गर्दा सर्छ। खोप नलगाएको जोकोहोलाई यो संक्रमण हुने गर्दछ।
प्रमुख चिन्ह-लक्षणहरू:
मुख, नाक र शरीरको अन्य भागमा बिबिरा देखिनु, उच्च ज्वरो आउनु , रुघा खोकीको लाग्नु, आँखा र घाँटी दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने इत्यादी
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्दछ।
जटिलता
दादुरा रोक्न सकिने जनस्वास्थ्य समस्या हो तर समयमा यसको उपयुक्त उपचार हुन नसक्दा आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, इनसेफ़्लाइटिस् आदि हुनसक्छ।
खोप
दादुरा रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी दुई पटक दिनुपर्छ। दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो। नियमित खोप लगाउँदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरूमा समेत पाँच वर्षको उमेरभित्र जुनसुकै समयमा आएमा पनि एक महिनाको फरकमा दुई मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ। बच्चाको दादुराको खोप एक मात्राको प्रभावकारिता ८५ प्रतिशत र दोस्रो मात्रा दिएमा रोगको रोकथाम गर्ने प्रभावकारिता दर ९५ देखि ९७ प्रतिशत हुने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेका छन्। एक जना बिरामीले अन्य धेरै बालबालिकालाई सार्न सक्छ। यो रोग भाइरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। त्यसैले बिरामीलाई अनिवार्यरूपमा अन्य बालबालिकासँगको सम्पर्कमा आउन नदिन आइसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्दछ।