काठमाडौं- वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा मानन्धरलाई बेष्ट डाक्टर अवार्ड प्रदान गरिएको हो।
संघले सज्जन-श्याम ट्रष्टसँग गरेको सम्झौता अनुसार छनोट समितिको सिफारिसका आधारमा डा मानन्धारलाई अवार्ड प्रदान गरेको हो।
अवार्ड छनोट समितिको निर्णय अनुसार डा महर्जनले क्यान्सर उपचारको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो। डा मानन्धर नेपालकै पहिलो अन्को रेडियोलोजिष्ट हुन्। २०३५ सालमै क्यान्सरमा विशेषज्ञता हासिल गरेकी उनी सरकारी सेवामा लामो समय काम गरेर अवकाश पाएकी हुन्।
क्यान्सर उपचारका लागि नेपालमै पहिलोपल्ट रेडियसन मेसिन वीर अस्पतालमा ल्याइएको हो २०४८ सालमा। त्यो बेला अन्को रेडियसनमा एमडी गरेकी उनी एक्लै थिइन्। तर, २० वर्षसम्म वीरमा उक्त मेसिन चलाइन् उनले। बीचमा केही समय डा आरती साह आए पनि बाँकी सबै समय क्यान्सरको ओपिडी, केमोथेरापी र रेडियसन उनी एक्लैले धानिन्।
२०६८ सालमा उनी सेवाबाट रिटायर्ड भएकी हुन्।