काठमाडौं- दैलेखको भगवतीमाई गाउँपालिकामा दुईदिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा २ हजार १४२ जना स्थानीयहरुले स्वास्थ सेवा लिएका छन्।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाक,कान घाँटी विभागका प्रमुख प्राडा ढुण्डीराज पौडेल, डा कविर बास्तोला, मेडिसिन विभागका प्राडा रेवतीरमन मल्ल, डा देवेन्द्र आचार्य, स्त्रीरोग विशेषज्ञ डा होमनाथ अधिकारी, डा कृति बेल्वासे, रेडियोलोजितर्फ डा हरि सापकोटा, छाला तथा यौन रोगका डा कमलजङ शाही लगायत डा प्रीति यादव, डा आभा भट्टले सेवा प्रदान गरेका थिए।
भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले आफू जनताहरुको स्वास्थप्रति संवेदनशिल रहेको र आगामी दिनमा यस्ता खालका कार्यक्रमहरुको निरन्तरता दिने बताए। जिल्लाको विकट गाउँपालिकामा गरिएको स्वास्थ शिविरमा विशेषज्ञ डाक्टरहरुको सेवाबाट विभिन्न रोगबाट पीडित नागरिकले राहत पाएको नेपालगन्ज मेडिकल कलेजका नाक,कान घाँटी विभागका प्रमुख प्राडा ढुण्डीराज पौडेलले बताए।
स्वास्थ शिविरबाट नेपालगन्ज मेडिकल शिक्षण अस्पतालमा रिफर भएर आउने बिरामीहरुलाई अस्पतालले बेड चार्जमा ५० प्रतिशत र अन्य चेकजाँचमा २५ प्रतिशत छुट दिईने अस्पतालका सामाजिक सेवा इकाई प्रमुख राम बहादुर मल्लले बताए।
स्वास्थ शिविरबाट महिलाहरुको पाठेघरसम्बन्धी समस्या, नाक कान घाँटी सम्बन्धी समस्या, पेट, टाउको तथा छाती एवम् दीर्घरोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको डा देवेन्द्र आचार्यले जानकारी दिए।