काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्। गए राति उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रमुख शाहसँगै स्वास्थ्य सल्लाहकार डा जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत प्रस्थान गरेका छन्।
बेलायतम मंगलबारदेखि चैत २ गतेसम्म हेल्दि सिटी सम्मिट हुँदैछ। ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह-आयोजना लण्डनका मेयरले गरेका हुन्। सम्मेलनमा गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी समस्यासँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ।
शिखर सम्मेलनले स्वस्थ र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ। सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ। यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने भनिएको छ।