काठमाडौं- नेकपा एकीकृत समाजवादीको कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको लागि थप एक महिने बिदाको माग गरेको छ। अहिले सरकारले दिँदै आएको बिदामा सो बिदा थप गर्न संगठनले माग गरेको छ।
संगठनले कार्यालयमा स्तनपान कक्षको उचित प्रबन्ध गर्न तथा टेस्ट ट्युब बच्चा जन्माउने आमाहरूलाई लामो समय निगरानीमा रहनुपर्ने हुँदा तलबी बिदाको व्यवस्था गर्न समेत माग गरेको छ।
अस्थायी–करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गरेको छ। संगठनको फागुन २६ र २७ मा सम्पन्न भएको प्रथम केन्द्रीय अधिवेशनपछि चयन भएका महासचिव प्रकाश राईले एक सार्वजनिक अपिल गर्दै यस्तो माग गरेका हुन्।