काठमाडौं- अटिजम बारे जनचेतना बढाउन सांगितिक कार्यक्रम हुने भएको छ। काठमाडौं महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी, १९७४ एडी ब्याण्ड र अष्ट्रेलियन राजदूतावासको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो।
चैत ४ गते शनिबार साँझ ५ बजे काठमाडौंको टुँडिखेलमा हुने नि:शुल्क सांगीतिक कार्यक्रमलाई ‘इम्ब्रेस अटिजम’ नाम दिईएको छ।
अस्ट्रेलियाली दूतावासले सार्वजनिक गरेको भिडियो सन्देशमा नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले अटिजमका लागि सांगीतिक कार्यक्रम गर्न पाउँदा उत्सुक भएको बताएकी छन्।
अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) का अध्यक्ष सुनिता मलेकुले अटिजमको बारेमा छलफल जरुरी भएको बताईन्।
त्यस्तै, उक्त भिडियो मार्फत काठमाडौँ महानगरपारिकाका उपमेयर सुनिता डंगोलले महानगरले अपांग समावेशीतालाई विशेष कार्यक्रमका रुपमा लिएको र यस क्षेत्रम विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरिरहेको बताएकी छन्।
१९७४ एडी ब्याण्डका कलाकार सन्जय श्रेष्ठले अटिजमको बारेमा सुन्ने समय आएको भन्दै १९७४ एडीले अटिजमलाई स्वीकार्ने बताएका छन्।
अटिजम बालबालिकाको जन्मजात मस्तिष्कको विकासमा आएको असमानताको अवस्था हो। जसले गर्दा बच्चाले उमेर अनुसार बोलचाल नगर्ने, सामाजिक व्यवहार नदेखाउने जस्ता क्रियाकलापहरु देखा पर्दछन्।