केही दिनअघि छिमेकी विद्यालय चितवनको खैरहनी माविका महिला शिक्षकहरुले बेबी सावर कार्यक्रम गरेको समाचार विभिन्न अनलाईन मिडिया एवम् सामाजिक सञ्जालहरुमा अनावश्यक अतिरञ्जित भएको छ। विभिन्न लाञ्छनासहित कमेन्टहरु पोष्ट भएको समेत देखियो। एउटा महिला शिक्षककोे हैसियतले त्यो मिडियाबाजी र कमेन्टतर्फ मेरो पनि ध्यानाकर्षण भएको हुँदा त्यस बारे आफ्नो धारणा राख्न चाहन्छु।
परिवार पछिको दोस्रो परिवार आ–आफ्नो कर्मथलो हो। कर्मथलोका साथीहरु परिवारभित्रका सदस्यहरु हुन्। आफ्नो परिवारभित्र सुखदुख दुवै अवस्थामा साथ, सपोर्ट हुन्छ र हुनु पनि पर्छ। रमाईला पलहरुमा पनि सँगै भइन्छ। दुःखका पलहरुमा पनि संगै दुखिन्छ। अर्काे कुरा एक महिलाको जीवनमा सन्तान जन्माउने प्रक्रिया सृष्टिको सुन्दर र महान प्रक्रिया हो र जीवन–मरणको सवाल पनि हो! प्रसब पीडा भनेको सामान्य पीडा होईन र यो पुरुषहरुले चाहेर पनि महसुस गर्न सक्दैनन्।
हरेक आमा प्रत्येक शिशुको जन्ममा एक पटक मृत्युको मुखमा पुगेर फर्किएका हुन्छन्। कैयौं आमाहरु शिशुको जन्म दिँदा नफर्किएका पनि छन्। त्यसैले सन्तान जन्म प्रक्रिया अति संवेदनशील चुनौतीपूर्ण प्रक्रिया हो। जब आफ्नो सहकर्मी साथी त्यस्तो संवेदनशील, महान प्रक्रियामा छिन् र उनलाई सुरक्षित र सहज प्रशुति प्रक्रियाको कामना गर्दै, आमा र शिशु दुवैको पूर्ण स्वस्थताको लागि र मातृत्वलाई सम्मान गर्नको लागि कार्यथलोमा कुनै बाधा नपर्ने गरी सामान्य प्रक्रियाले शुभभावका साथ शुभकामना कार्यक्रम राखिनु के अपराध भएछ र मिडियाबाजी गरेर सम्पूर्ण आमाहरुको अपमान हुने गरी कोकोहोलो गरिरहेका हुन्?
भाईरल हुने होडमा यति संवेदनशील विषयलाई तोडमोड गरी मिडियाबाजी गरिनु सम्पूर्ण महिला शिक्षकहरुप्रतिको अपमान हो। सम्पूर्ण आमाहरुप्रतिको अपमान हो। अर्काे कुरा प्रसारित भिडियोमा विभिन्न प्रकारले अपमान जनक शब्दहरुबाट कमेन्ट गर्नेहरुको सोच कति निष्कृष्ट र घृणित छ भने उनीहरुले आफू कुन प्रक्रियाबाट यस पृथ्वीमा आएको हो भन्ने कुरा नै बिर्सिएका छन्। आफूले प्रयोग गरेका शब्दबाट एक गर्भवती आमाको मनमा कस्तो प्रकारको प्रभाव परेको होला, त्यसबाट शिशुको स्वास्थ्यमा कस्तो प्रभाव पर्ला भन्ने जस्ता सामान्य मानवीय चेत पनि कसरी गुमाउन सक्छ मान्छे?
त्यसदिन विद्यालयको परीक्षा सकिएपछि खाजा खाने क्रममा खाजामा दहिचिउरा खाने र यही अवसरमा गर्वावस्थाकी अन्तिम महिनामा पुगेकी आफ्नी सहकर्मी साथीलाई पनि दही चिउरा खुवाउने र सुरक्षित एवम् सहज प्रसूतिको शुभकामना पनि दिने अनौपचारिक सरसल्लाह पश्चात कार्यक्रमको आयोजना भएको रहेछ। यसो गर्दा दहीचिउरा खुवाउने प्रचलन थाहा नभएको साथीलाई यस प्रचलनको बारेमा जानकारी पनि हुने र रमाईलो पनि हुने मनसायले दश मिनेटमा कार्यक्रम गरेका रहेछन्।
हाम्रोमा त यस्ता प्रचलन छैन भन्ने जिज्ञासा राखिरहेको समयलाई अवसरको रुपमा लिदै सामान्य रुपले रमाईलो गरौं र खुसी पनि साटासाट गरौं, शुभभाव पनि राखौं भन्ने पवित्र उद्देश्यका साथ गरिएको कार्यक्रमलाई तोडमोड गरी गलत नियतका साथ प्रचारबाजी गर्लान् भन्ने अनुमान पनि नगरेका ती महिला शिक्षक साथीहरुले अहिले आफूहरुलाई मात्र हैन सम्पुर्ण महिलाहरुप्रति गरिएको अपमान हो। हामीले के अपराध गर्याैं? हाम्रो यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणमा कहाँ कसरी असर गर्याे? हामीहरुसँग आएर छलफल गरियोस्। हाम्रा गल्ती के भए? के शिक्षकहरुले खुसी साटासाट गर्ने सामान्य मानव अधिकार पनि प्रयोग गर्न नपाईने हो? यस विषयमा स्पष्ट धारणा आओेस्।
सम्वन्धित पक्षबाट स्पष्टिकरण लिन पर्ने हो भने हामीसँग लिइयोस्। के के सँजाय भोग्न पर्ने हो हामी भोग्न तयार छौं तर एक गर्ववती आमाको मनोभावनामा दुरगामी असर पर्ने गरी गरिएको मेडियावाजी र त्यसमा आएका निकृष्ट र अपमानजनक कमेन्ट गर्नेहरु सबैलाई कानुनी दायरामा ल्याई कारबाही गरियोस् भन्ने आवाज उठाएका छन्। उहाँहरुको आवाजमा आवाज थप्ने काम तपाईं हामी सम्पूर्ण न्यायका पक्षधर जनसमुदायको पनि हो।
किनकी एक गर्भववती महिलाको मनोभावमा नै चोट पुग्ने किसिमको यो हर्कतले नेपालको संविधानको महिलाको हक लगायत सम्मानजनक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, मनोरञ्जनको हक लगायतका मौलिक हकको हनन् भएको छ। यौन तथा प्रजनन् अधिकार वडापत्र १९९५ को विपरित छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नम्वर १३२५ र १८२० को विपरित छ।
अर्काे महत्वपूर्ण कुरा “स्कुलमा बेबी सावर“ भन्ने विषयलाई हाईलाईट गरेर जुन हाँसोको विषय बनाईएको छ, यो मानव सृष्टि प्रक्रियाको अपमान हो। प्रायः सबै विद्यालयमा जन्मदिन मनाईन्छ। तिज, दशैं, तिहार विशेष कार्यक्रम गरिन्छ र गरिँदै आएको छ। त्यसमा केही कुरा उठाईएको छैन त। हुन त त्यो कुनै योजनावद्ध कार्यक्रम नै थिएन।
खाजामा दहिचिउरा जुरेपछि त्यहि अवसरलाई साथीको खुसीमा परिणत गर्न खोजिएको हो भन्दै हुनुहुन्छ। योजनावद्ध नै बेबी सावर मनाउँदा के को आपत्ति भयो? बच्चा जन्माउने प्रक्रियालाई हाम्रो समाजले कसरी लिएको छ भन्ने कुरा पनि यसमा जोडिन्छ। बच्चा जन्माउने प्रक्रियालाई महिलाको मात्रै निजी काम, लाजको विषय, अति सामान्य प्रक्रियाको रुपमा हेरिने गरिन्छ हाम्रो समाजले। महिलाको कमजोरीको रुपमा पनि लिने गरिन्छ यसलाई। त्यसैको परिणाम स्वरुप यसप्रति यति नकारात्मक प्रतिकृया आएको हो। यो सरासर गलत हो। यहि संकुचित विचारले हाम्रो समाज अघि बढ्न सकेको छैन। गर्भववती अवस्थामा गरिएको बेवास्ताकै कारण कैैंयौ आमाहरुको स्वास्थ्य जटिल बनेको छ। कैयौं शिशुहरुको शारीरिक र मानसिक स्वास्थ्यमा असर पुगेको छ। यतातिर हाम्रो समाजको ध्यान पुगेकै छैन।
त्यसैले म त भन्छु, हरेक महिलाको गर्भावस्थालाई लुकाउने हैन। लाजको विषय बनाएर खुम्चिएर बर्काे ओढेर, ठुलो ह्वार्लाङ्ग लुगा लगाएर डराएर हिड्ने होईन। यो त एक नयाँ सिर्जनाको समय हो। सबैले सम्मान गर्नुपर्छ। घर, परिवार कार्यस्थल सबैमा थाहा हुनुपर्छ। यो समय महिलाको विशेष अवस्था हो। त्यसैले विशेष सुविधा, माया, सम्मान पाउनु पर्छ, सेलिव्रेट गर्नुपर्छ। यो अभियानको सुरुवात गर्नुपर्छ। यस मानेमा तत्काल बनेको योजना भए पनि खैरहनी माविका महिला शिक्षक साथीहरुले सुरु गर्नु भएको छ। यसमा सम्बन्धित शिक्षक साथीहरुलाई सम्मान छ। साथै आफू विशेष अवस्थामा रहेर पनि पेशागत जिम्मेवारी पूर्णताकासाथ पूरा गरिरहनु भएको आदरणीय मेडमलाई कुनै प्रकारको चिन्ता नलिईकन, उच्च मनोवलकासाथ अघि बढ्नुस् भन्न चाहन्छु। आफ्नो र निकट भविष्यमा नै आउँदै गरेको आफ्नो सन्तानको स्वास्थ्यको ख्याल राख्नुस्। हामी सबै तपाईंको साथमा छौँ भन्न चाहन्छु।
(लेखक कंकाली माविकी शिक्षिका हुन्।)