काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार या मंगलबारसम्म स्वास्थ्यमन्त्री नियुक्ति हुने बताएका छन्।
स्वास्थ्य खबरपत्रिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै थापाले नेपाली कांग्रेसभित्रको केही आन्तरिक समस्याले शुक्रबार स्वास्थ्मन्त्री नियुक्ति हुन नसकेको जानकारी दिएका हुन्। उनले सोमबार या मंगलबारसम्म स्वास्थ्यमन्त्री नियुक्त भइसक्ने बताए।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन हुँदा कामकाजमा समस्या हुने भन्दै यथाशिघ्र मन्त्री नियुक्ति गर्नुपर्ने पनि बताए।
मन्त्रालय भागबन्डामा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको छ। कांग्रेसको आन्तरिक विवादका कारण शुक्रबार गगन-शेखर समूहले मन्त्रीको नाम पठाएको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्ण भने भएको छैन।
कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन्।