पोखरा- पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई विश्व स्वास्थ्य संगठनले आफ्नो सहयोगमा स्थापित र सञ्चालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) हस्तान्तरण गरेको छ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डवले अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई इएमआर हस्तान्तरण गरेका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले इएमआरको औपचारिक उद्घाटन गर्दै गण्डकी प्रदेशमा पहिलो पटक सुरु गरिएको एकीकृत इएमआर प्रणालीले यहाँका समुदायमा ठूलो सहयोग पुग्ने बताए।
कार्यक्रममा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले अस्पतालबाट सुरु गरिएको डिजिटल सेवाले अव बिरामीको रेकर्ड मात्र नभएर उनीहरुको नियमित स्वास्थ्य उपचार सेवालाई समेत सशक्त बनाउने बताए।
उक्त अवसरमा बोल्दै डब्लुएचओका नेपाल प्रतिनिधि डा पाण्डवले नमूना कार्यक्रमको रुपमा सुरु गरिएको यो प्रणालीले मानिसको स्वास्थ्यको विषयमा जानकारी राख्न सजिलो मात्र नभएर उनीहरुको उपचार प्रणालीलाई छिटो र सहज बनाउन सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले इएमआर गुणस्तरीय आधुनिक चिकित्सा सेवाको आधारस्तम्भ रहेको उल्लेख गरे । उनले यो प्रविधिलाई सहज सञ्चालन गर्नको लागि आजैबाट दुई दिने तालीम समेत सुरु गरेको बताए।
अस्पतालमा सञ्चालित इएमआर प्रणालीमा अहिलेसम्म तीन हजार भन्दा धेरै बिरामीहरुको डिजिटल फाइल बनिसकेको जानकारी समेत डा गौचनले दिए।
करीव ४० लाख रुपैयाँ लागतमा स्थापित सो इएमआर परियोजना सम्पन्न गर्न डब्लुएचओ नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको थियो।