काठमाडौं- नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा अझै पनि मन्त्रीहरु पठाउन सकेको छैन। शेरबहादुर देउवा र शेखर-गगन समूहबीच मन्त्रालयका विषयमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तारले पूर्णता पाउन सकेको छैन।
मन्त्रीहरुको नामका विषयमा बिहीबार भएको छलफलमा देउवाले शेखर-गगन समूहलाई स्वास्थ्य मन्त्रालय दिने सहमति जनाएका छन्। योसँगै स्वास्थ्य मन्त्रालयमा शेखर-गगन समूहबाट मन्त्री बन्ने लगभग निश्चित भएको छ।
स्वास्थ्य मन्त्रीमा दाबी गर्दै आएका मोहन बस्नेतलाई देउवाले युवा तथा खेलकुद मन्त्रालय लिन आग्रह गरेका छन्।
'मोहन दाईले स्वास्थ्य मन्त्रालय पाउनु पर्छ भन्दै आउनु भएको थियो। तर शेखर-गगन समूहले स्वास्थ्यमा दाबी नछोडेपछि मोहन दाईलाई खेलकुद मन्त्री लिन सभापतिले आग्रह गर्नुभएको हो,' देउवा निकट स्रोतले भन्यो, 'अब स्वास्थ्यमा को आउनुहुन्छ भन्ने चाँही उहाँहरुले नाम दिएपछि थाहा होला।' बस्नेतले देउवाको आग्रहका विषयमा अझै निर्णय दिइनसकेको पनि उनले जानकारी दिए।
कांग्रेस महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माले सुरुदेखि नै स्वास्थ्यमा प्रदिप पौडेलको नाम लिँदै आइरहेका छन्। देउवाले स्वास्थ्य मन्त्रालय दिन राजी भएसँगै स्वास्थ्य मन्त्रीमा पौडेलको नाम आउने सम्भावना फेरि बढेर गएको छ।
यद्यपि मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने अझै टुंगो लागी नसकेका कारण नामका विषयमा कांग्रेसमा फेरि छलफल हुने बताइएको छ।