काठमाडौं - सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको भरतपुरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए। सूर्तीजन्य पदार्थ नियमन गर्ने ऐन बनेपनि कार्यान्वयन गर्न समस्या हुने गरेको बताए।
सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका नागरिक रहेको उनले बताए। सन् २०२० मा भएका अध्ययनहरुले २२ दशमलव ३ प्रतिशत विश्वका मानिसले सुर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए। त्यसमध्ये ३६ दशमलव ७ प्रतिशत पुरुष र ७ दशमलव ८ प्रतिशत महिला रहेका छन्।
नेपालमा सुर्तीजन्य दैनिक २४ दशमलव १ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको उनले जानकारी दिए। त्यसमध्ये ४० दशमलव १ प्रतिशत पुरुष र १० प्रतिशत महिला छन्। धुम्रपान गर्ने १७ दशमलव १ प्रतिशतमध्ये २८ प्रतिशत पुरुष र ७ दशमलव ५ प्रतिशत महिला छन्। विद्युतीय चुरोट प्रयोग गर्नेहरु बढ्दै गएको भन्दै उनले शून्य दशमलव ८ प्रतिशत रहेको जानकारी दिए।
नेपाल चिकित्सक संघका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा अनिल बिक्रम कार्कीले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए। उनले २० मिनेट मात्रै धुम्रपान नगर्दा पनि उच्च रक्तचाप, पल्स रेड र शारीरको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताए। आठ घण्टा धुम्रपान नगर्दा ९३ दशमलव ७५ प्रतिशत निकोटिनको स्तर घट्ने उनले बताए। चुरोटको धुँवामा चार हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिए।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सुर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सकेपनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए। दक्षिण एशियामा सबैभन्दा सस्तो सुर्तीजन्य पदार्थ नेपालमा रहेको जानकारी दिँदै यसको मूल्य बढाउनुपर्ने उनले बताए।े सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ। सुर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन उनको सुझाव छ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताइन्। उनले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधै लागिपर्ने प्रतिवद्धता ब्यक्त गरिन्। सबैको सहकार्यमा मात्र ऐन कार्यान्वयन सहज हुने उनको भनाई छ।
मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वाथ्य पत्रकार मञ्चले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न गर्न बनेको एन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने बताए। कार्यक्रममा काठमाडौं, चितवन, नवलपुर र मकवानपुरका गरी ३० जना पत्रकारको सहभागिता थियो।