काठमाडौं - बालबालिकाहरुमा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, ‘फेभराइल सिजर।’
फेभराइल सिजर भनेको बच्चामा अचानक ज्वरो आउँदा हुने बेहोसीपनको अवस्था हो। सामान्यतया खेलिरहेको बच्चाहरुमा ज्वरो ह्वात्तै बढ्ने, दाँत किट्ने, आँखा पल्टाउने, हात खुट्टा काम्ने, मुखबाट फिज आउने, ओठहरु निलो हुने समस्या देखिन्छन्। यो भनेको ज्वरोसँग आउने बेहोसीपन हो।
यो समस्या ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा हुने गर्दछ। खेलिरहेको, दूध खाइरहेको बच्चाले एक्कासी आँखा पल्टाउने, मुखबाट फिज निकाल्दा आमा बुवा निकै आत्तिन्छन्। बच्चालाई केही ठूलो समस्या भयो की ? भूतप्रेत लाग्यो की भन्ने सम्मको अन्धविश्वास हुन्छ। तर यो केही नभएर बच्चामा ज्वरो आउँदा ३ देखि ७ प्रतिशतलाई यो ज्वरोसँग आउने बेहोसीपन देखिन सक्छ।
यो समस्या पनि दुई किसिमको हुन्छ। एक, साधारण फेभराइल सिजर र दोस्रो, जटिल फेभराइल सिजर।
साधारण फेभराइल सिजर : यो एक साधारण ज्वरोसँग आउने बेहोसीपन हो। यसमा बच्चाहरुले आँखा पल्टाउने, हात खुट्टा काम्ने, दाँत किट्ने, मुखबाट फिज निकाल्ने गर्दछ। र, यो समस्या एक मिनेटभन्दा कम र बढी ५ मिनेटसम्म हुन्छ। तर केही बच्चाहरुमा भने बढीमा १५ मिनेटसम्म पनि यो समस्या हुने गर्दछ। यो समस्या २४ घण्टामा एक पटक मात्र हुन्छ। यो समयपछि बच्चा पुनः सामान्य अवस्थामै आउँछ अनि खेल्न थाल्छ।
जटिल फेभराइल सिजर : यो जटिल खालको हुन्छ। यसमा बच्चालाई झट्का आउँछ। २४ घण्टामा दुई वा दुई भन्दा बढी झट्का आउँछ। बच्चाको कुनै एउटा भागमा मात्र कम्पन आउन सक्छ। अनुहार वा हात खुट्टामा मात्रै कम्पन आउन सक्छ।
अहिले मौसम परिवर्तनसँगै बच्चामा ज्वरो ह्वात्तै बढेको छ। ज्वरोसँगै बेहोसीपनको समस्या पनि आउन सक्छ। त्यसैले आफ्नो बच्चालाई ज्वरो आउने बित्तिकै सिटामोल खुवाउनुपर्छ। र, बच्चाहरुको हात खुट्टा, काखी र टाउकोमा पानी पट्टी लगाइरहनुपर्छ।
(डा किशोर खत्री बाल रोग विशेषज्ञ हुन्।)