काठमाडौं- भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ।
पौवादुङमा–४ मा हरेक वर्ष पूर्णखोप दिगोपनाको अवस्था कायमै रहेकोले पूर्णखोप सुनिश्चित वडा घोषणाका कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ।
गाँउपालिकाको आयोजनामा गत चैत्र २९ गते उक्त घोषणा कार्यक्रम पौवादुङमा–४ का वडा अध्यक्ष तथा मानेडाँडा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष रमेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, वडा खोप समन्वय समिति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रस्तुतिकरण अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले गरेका थिए भने कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको परिभाषा, पूर्णखोपको परिभाषा र नेपालमा यसको वर्तमान अवस्था, लक्ष्य तथा चुनौती बारे जनाकारी गरायएको थियो।
जनस्वास्थ्य निरीक्षक सुन्दासले अस्पतालबाट प्रवाह भईरहेको नियमित खोप सम्बन्धीका प्रगति विवरणहरु, पौवादुङमा–४ मा देखिएका समस्याहरुको कथन, जातजाती अनुसार पूर्णखोपको अवस्था र खोप छुट भएका बच्चाहरु पहिचान गरी पूर्णखोप प्रदान गरेको जानकारी दिए।