काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले आफू अस्वस्थ भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
उनले आफू अस्वस्थ भएका कारण उपनिर्वाचनको चुनावी मैदानमा सहभागी हुन नसकेको जानकारी गराएका छन्।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’, उनले लेखेका छन्, ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन।’
अध्यक्ष ओलीले तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको उल्लेख गर्दै उनीहरू योग्य उम्मेदवार भएको दाबी पनि गरेका छन्।
साथै, उनीहरूलाई विजय गराउन मतदाताहरूसमक्ष अनुरोध समेत गरेका छन्। ‘स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु। तीनैजना उम्मेदवाारहरूलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु’, ओलीले भनेका छन्।