काठमाडौं - नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग गरेका छन्।
उनीहरुले सोमबार अर्थमन्त्री डा प्रकाश शरत महतसँग भेटवार्ता गरी सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न माग गरेका हुन्। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।
संस्थाका अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा उनीहरु अर्थमन्त्री महतलाई भेट्न पुगेका थिए। विश्व स्वास्थ्य संगठनको सिफारिस भन्दा सरकारले सुर्तीजन्य पदार्थमा कर निकै कम लगाएको संस्थाले जनाएको छ। सुर्तीजन्य पदार्थमा कर वृद्धि गरे मात्र यसको प्रयोगलाई घटाउन सकिने संस्थाले जनाएको छ।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२८ जनाको मृत्यु हुने गरेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नसर्ने रोगको मुख्य कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थको सेवनबाट प्रति घण्टा चार भन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्। जुन संख्या नेपालको कुल मृत्युको १९ दशमलव ४१ प्रतिशत हुन आउँछ।