काठमाडौं-नेपालको औषधि बजारको इतिहास ५३ वर्ष पुरानो छ। अहिले जस्तो औषधि बजारको क्षेत्र पहिले थिएन। उद्योगहरु पनि सीमित थिए।
सरकारले जनताको माग पूरा गर्न नसक्दा औषधि बाहिरबाट आयात गरिन्थ्यो। नेपालको औषधि बजार पूर्ण रुपमा भारतीय र अन्य बहुराष्ट्रिय फर्मा कम्पनीहरुको स्वामित्व थियो। उपभोक्ता र प्रिस्क्राइबहरुले स्वदेशी उत्पादनको गुणस्तर प्रभावकारितामा विश्वास निकै कम गर्थे।
नेपाली औषधि बजारमा निजी क्षेत्रको प्रवेश २०२६ सालमा केमिड्रग उद्योगको स्थापनासँगै सुरु भएको थियो। त्यसपछि नेपाल फर्मास्युटिकल्स जस्ता उद्योगको स्थापना हुँदै गए।
स्वदेशी औषधि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको उद्योगमध्ये पर्छ, नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी (एनपीएल) प्रालि।
वीरगञ्जको जितपुरस्थित यो उद्योग ३६ वर्ष पहिले विसं. २०४२ सालमा स्थापना भएको थियो। त्यो बेला औषधि बजारमा आफूलाई स्थापित गर्नु चुनौतीपूर्ण थियो। तर एनपीएलका प्रमुख महेन्द्रबहादुर अमात्य ती चुनौतीहरुसँग लड्न तयार थिए। स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गर्ने अठोटका साथ एनपीएल सन् १९८५ मा औषधि व्यवस्था विभागमा दर्ता भयो।
‘क्वालिटी इन दि सर्भिस अफ मिलियन्स’ भन्ने नारालाई एनपीएलले आत्मसात गरेको छ। गुणस्तरीय औषधि उत्पादन नै आफूहरुको पहिलो प्राथमिकतामा रहेको एनपीएलकी मार्केटिङ प्लानिङ प्रमुख निस्मा ब्रजाचार्य बताउँछिन्।
उनी भन्छिन्, ‘अहिलेको प्रतिस्पर्धात्मक बजार छ। तर हामी गुणस्तरीय उत्पादनमा विश्वास राख्छौँ। औषधिको गुणस्तरीयतामा सम्झौता गर्ने गुञ्जायस हुँदैन।’
मुटु सम्बन्धी समस्याको उपचारमा प्रयोग हुने एमलोड नामक औषधिको क्षेत्रमा ५२ प्रतिशत हिस्सा आफूहरुले ओगटेको एनपीएलको दाबी छ। चिकित्सक र बिरामीहरुले गरेका विश्वासका कारण आफूहरुले उक्त औषधिमा महत्वपूर्ण क्षेत्र ओगट्न सफल भएको उनी बताउँछिन्।
इन्जेक्टेबल्स उत्पादनमा पनि जोड, नयाँ–नयाँ योजना
हाल एनपीएलले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ। जटिल खालका रोगहरु मुटु सम्बन्धी, मधुमेह, मानसिक रोगका र अन्य रोगका औषधि उत्पादन गर्दै आएको छ।
ट्याब्लेट, क्याप्सुल, ड्राई पाउडर, झोलको रुपमा पनि एनपीएलले औषधि उत्पादन गर्छ। हालै मात्र एनपीएलले इन्जेक्टेबल पनि उत्पादन गरिरहेको छ। यही वर्षको साउन ९ गतेदेखि एनपीएलले इन्जेक्टेबल बजारमा ल्याएको हो।
‘अहिले एम्पोलोजी र भायल्समा ल्याएका छौँ। इमरजेन्सीमा प्रयोग हुने र जेनलर इन्जेक्टेबल्सहरु छन्। र, छिट्टै नै ड्राई पाउडर इन्जेक्टेबल्सहरु पनि बजारमा ल्याउँदैछौं,’ उनले भनिन्।
गुणस्तरीय इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधि भित्र्याइएको उनले बताइन्। आगामी दिनमा पनि इन्जेक्टेबल्सको उत्पादनलाई बढावा दिने उनले बताइन्।
एनपीएलको हाल सात वटा शाखा छन्। एक्युट केयर, डर्मा, भेटेरिनरी, क्रोनिक, कोर्डियाक, डायबिटिज केयर र रिदम शाखाहरु छन्। यी शाखाहरुको पनि विभिन्न उपशाखा छन्।
चार जनाले सुरु गरेको एनपीएलमा अहिले पाँच सय बढी जनशक्ति छन्। योसँगै नयाँ प्रविधिको माध्यमबाट ट्याब्लेट सेक्सनहरु पनि थप विस्तार गर्ने तयारीमा रहेको बज्राचार्यले बताइन्। निःसन्तानपनको उपचारमा प्रयोग हुने अधिकांश औषधिहरु बाहिरबाट आयात हुने गरेको बताउँदै उनले यसका औषधिहरु पनि स्वदेशमै उत्पादन गर्ने योजना रहेको बताइन्।
‘नेपालमै औषधि निर्माण भयो भने गुणस्तरीयतामा विश्वास हुन्छ।’ उनले भनिन्, ‘सरकारले साथ दिएको खण्डमा त्यस्ता औषधिहरु नेपाली कम्पनीहरुमा दिनुपर्छ। त्यो हामी ल्याउन चाहन्छौं।’ छातीरोग सम्बन्धी, क्रोनिक सेग्मेन्टमा अझै पनि सेवाहरु विस्तार गर्दै लैजाने एनपीएलको योजना छ।
उत्कृष्ट अवार्ड
एनपीएलले फर्मास्युटिकल्सको क्षेत्रमा उत्कृष्ट काम गरेको अवार्ड समेत प्राप्त गरेको छ। द कर्पोरेट क्लब प्रालिले ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स अवार्ड २०२२’ प्रदान गरेको हो। कर्पोरेट क्लबले यो अवार्ड हरेक वर्ष २२ वटा विद्यामा प्रदान गर्दै आएको छ। उद्योगको उत्पादन, बिक्री–वितरण, जनशक्ति व्यवस्थापन, सामाजिक क्षेत्र लगायतमा गरेको योगदानको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ।
यस प्रकारको सम्मानले आफुहलाई थप जिम्मेवार बनाउने र काम गर्न हौसला मिल्ने गरेको बज्राचार्य बताउँछिन्। आफूहरुले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि एनपीएल समाज कल्याण संस्थान स्थापना गरेको उनले बताइन्। जसअन्तर्गत कर्पोरेट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ।
सरकारले सहज वातावरण बनाउनुपर्छ
कुनै पनि देश विकास हुनका लागि त्यहाँ रहेका उद्योगहरुको विकास हुन आवश्यक रहेको बज्राचार्य बताउँछिन्। उद्योगको विकासका लागि आवश्यक नीतिको नै विकास गर्नुपर्ने उनको भनाइ छ।
एनपीएलले औषधि निर्यातका लागि प्रयास नगरेको होइन। केही वर्षअघि भारतमा औषधि निर्यात गर्ने प्रयास गरेको थियो। भारतको सरकारी नियम र नेपालको नीतिको अवरोधका कारण सफल हुन नसकेको उनी बताउँछिन्। सरकारले नीतिगत रुपमा सहज बनाए धेरै गर्न सकिने उनले बताइन्।
‘भारतमा औषधि निर्यातका लागि हामीले पहिला कोसिस गरेका थियौँ। तर भारतको सरकारी नियम र यहीँकै नीतिगत समस्याका कारण त्यो सफल हुन सकेन। सरकारले नीतिगत रुपमा सहज बनाइदियो भने धेरै अवसरहरु यहीँ छन्,’ बज्राचार्यले भनिन्।
सरकारले औषधि उद्योगहरुलाई सहज वातावरण बनाइदिनुपर्ने र हौसला प्रदान गर्नुपर्ने उनको बुझाइ छ।