काठमाडौं– नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी अनुसन्धान केन्द्रअन्तर्गत अनुसन्धान कार्यक्रमको काठमाडौंमा औपचारिक सुरुवात गरिएको छ।
‘नेपालमा सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास (सेफट्रिप नेपाल) परियोजनालाई बेलायतको नेशनल इन्स्टिच्यूट फर हेल्थ एण्ड केयर रिसर्चले आर्थिक सहयोग प्रदान गरेको छ। उक्त परियोजना बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड, ब्रिस्टल र काठमाडौं मेडिकल कलेज एवम् दुई गैरसरकारी संस्थाहरूः मातृशिशु अनुसन्धान कृयाकलाप (मीरा) र सुरक्षित र दिगो यात्रा नेपाल (एसएसटीएन) सँगको साझेदारीमा संचालन हुनेछ उक्त परियोजना अक्टोबर २०२६ सम्म चल्ने छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा भयावह हुँदै गएको सडक दुर्घटना रोक्न सरकार गम्भीर रहेको बताए। नेपालले सामना गरिरहेको सडक सुरक्षा चुनौतीको वर्णन गर्दै उनले यस नयाँ कार्यक्रमको विकास गर्न गरिएका अनुसन्धानको सरहाना गरे। उनले सडक सुरक्षा अनुसन्धानको महत्त्वलाई पुष्टि गर्दै यस किसिमका अनुसन्धानका नतिजा नेपाल सरकारलाई पनि जानकारी गराउन अनुरोध गरे।
नेशनल अलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटिका संयोजक सांसद योगेश भट्टराईले सडक सुरक्षा र सुरक्षित आवागमन साझा एजेण्डा भएकोले यसको प्रवर्द्धनका लागी पक्षपोषण र सहकार्यका साथै अनुसन्धानात्मक कृयाकलापहरु अत्यावश्यक भएको र संयुक्त राष्ट्र संघले अघि सारेको सडक सुरक्षाका लागी दशकको विश्वव्यापी कार्ययोजना सफल कार्यान्वयनका लागी सबै पक्षले प्रतिवद्धता जनाउनुपर्ने बताए।
युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टलकी प्राध्यापक एवम् अनुसन्धान निर्देशक प्रा जुली मिटनले भनिन् , ‘सडक सुरक्षाको लागि ‘सुरक्षित प्रणालीगत’ प्रयासले सम्बद्ध सबै संस्थाहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित गर्दै सडकमा मानिसहरूको त्रुटिले गर्दा हुनसक्ने चोटपटक र मृत्युको जोखिमलाई कम गर्ने वातावरण सिर्जना गर्न सँगसँगै काम गर्न प्रोत्साहित गर्दछ। सुरक्षित प्रणालीगत प्रयासले नेपालजस्तो देशमा सडक सुरक्षामा वास्तविक सुधार गर्ने क्षमता राख्छ।’
यसैगरी काठमाडौं मेडिकल कलेजका प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले तीनवटा कार्य प्याकेजमार्फत यो अनुसन्धान गरिने बताए। उनले भने, ‘एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्नसक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्नेबारे अन्वेषण गर्नेछ।’
सडक दुर्घटनामा ज्यान गुमाउने तथा अंगभंग हुने व्यक्तिहरुको संख्या दक्षिण एसियामै उच्च रहेको नेपालमा यस्तो अध्ययनले सडक सुरक्षा प्रवर्द्धन गर्न मदत पुग्ने ठानिएको छ।