काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन्।
बिहीबार नेपाल चलचित्र प्राविधिक सङ्घको २० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिभिल अस्पतालमा उपचार गर्न कलाकारलाई ५० प्रतिशत छुट दिलाउन पहल गर्ने समेत वचन दिए।
प्राविधिकले हिरो हिरोइनलाई सुन्दर देखाएर फिल्मलाई हिट बनाइरहेको भन्दै उनले प्रशंसा गरे। ‘फिल्म दुनियाँका साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूको जीवन कठिन होला तर गाह्रो मान्नुपर्दैन। सरकारले तपाईँका लागि मागलाई पूरा गर्नेतर्फ पहल गर्नेछ। म आजैदेखि प्राविधिकलाई सामाजिक सुरक्षामा ल्याउन पहल गर्छु।’
प्राविधिक सङ्घको चुनावी साधारण सभा समेत रहेको समारोहमा उनले एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
‘तपाईँहरूले राज्यलाई घच्घच्याउनुपर्छ भन्ने मलाई लाग्छ। एकताबद्ध भएर अघि बढ्नुस्,’ उनले भने। सातै प्रदेशमा निजामती अस्पताल खोल्ने सरकारको योजना रहेको बताउँदै उनले सिभिल अस्पतालमा कलाकार र खेलाडीलाई उपचारमा ५० प्रतिशत छुट दिनेतर्फ पहल गर्ने आश्वासन दिए।’