ट्रेड युनियनको इतिहास र बिकासक्रम:
ट्रेड युनियन ऐन,२०४९ ले परिभाषित गरे अनुसार “ट्रेड युनियन भन्नाले कामदारहरुको पेशागत हक हितको संरक्षण र सम्वर्द्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको ट्रेड युनियन सम्झनु पर्छ र सो शब्दले ट्रेड युनियन संघ तथा ट्रेड युनियन महासंघलाई समेत जनाउँछ। सामान्यतया श्रमिक वर्गहरुको संगठन जसले सामुहित हितको लागि सामुहिक सौदावाजी मार्फत श्रमिकहरुको पेशागत हकहितको सुरक्षा, अधिकार हरुको संरक्षण र प्रवर्द्धनको कार्यका लगि गठन गरिएका संघ/ महासंघ हरु नै ट्रेड युनियन हुन्।
विश्वव्यापी इतिहासलाई हेर्दा प्रथम मजदुरहरुको संगठन सन् १८२८ फिला डेल्फिया अमेरिकामा बनेको थियो। १८५० को दशक सम्ममा अमेरिकाको विभिन्न शहर हरुमा ट्रेड युनियन हरुको गठन भैसकको थिए। तत्कालिन अवस्थामा १८ घण्टासम्म काम गर्नुपर्ने मजदुर हरुले बढिमा १० घण्टा सम्मको कामलाई आफ्नो मुल मुद्दा बनाएको पाइन्छ। पछि सन् १८६९ मा अमेरिकामा राइट्स अफ लेबर गठन भएपछि ट्रेड युनियन बन्ने र मान्यता प्राप्त गर्ने क्रमले तिब्रता पायो।
यसैगरी सन् १८६० मा इंग्ल्याण्डमा सबै भन्दा पहिले मजदुर संगठन अस्तित्वमा आयो र यो क्रम यूरोपका विभिन्न देशहरुमा बढ्दै गएको इतिहास देखिन्छ। ट्रेड युनियनको इतिहास र विकासक्रमलाई हेर्दा खासमा अठारौं शताब्दीमा भएको औद्योगिक क्रान्ति पछि औद्योगिक क्षेत्रमा रहेका श्रमिकहरुको अधिकारका लागि भएको आन्दोलनबाट ट्रेड युनियन अभ्यासको सुरुवात भएको देखिन्छ। सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ। सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वभरका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो र त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ।
नेपालमा ट्रेड युनियनको संस्थागत शुरुवात वि.सं.१९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भए पश्चात त्यहाँ कार्यरत मजदुरहरुले वि.सं.२००३ मा मजदुरहरुको हकहित र सेवा सुविधाको माग राखी आन्दोलनको सुरुवात भएसँगै भएको पाइन्छ। वि.सं. २००३ सालमा चैत्र २० गते अखिल नेपाल ट्रेड युनियन कांग्रेसको गठन भयो जुन संगठनले नेपालको २००७ सालको राजनितिक परिवर्तनमा समेत निर्णायक भूमिका खेलेको थियो। वि.सं. २००७ साल माघ ४ गते महेश्वर छोचु र भक्तलाल श्रेष्ठको नेतृत्वमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघको स्थापना भयो जुन संघले मुलुकको सार्वजनिक प्रशासन सुधारको लागि गठित पहिलो युनियनको रह्यो। मुलुकको सार्वजनिक प्रशासन शासनमुखी नभई जनमुखी हुनुपर्दछ भन्ने मूल उद्घोषका साथ वि.सं २००८ साल जेष्ठ ११ गते तलब सुबिधा, नोकरीको सुरक्षा तथा निवृतभरणको व्यवस्था, घर बीदा, बिरामी बिदा, कर्मचारीको मृत्युपश्चात परिवारको लागि भत्ता तथा छोराछोरीको लागि नि:शुल्क पठनपाठनको व्यवस्था लगायतका मागहरु समेटेर तत्कालिन सरकार समक्ष मागहरु प्रस्तुत गरेको थियो।
सरकारले ति मागहरु प्रति वेवास्ता गरेपछि वि.सं. २००९ साल जेष्ठ १९ गते देखि काठमाडौं उपत्यका सहित देशका तराई र पहाडी क्षेत्रमा समेत कर्मचारीहरुले आम हड्ताल गरे जुन नेपालको इतिसामै पहिलो कर्मचारी हड्ताल थियो जसको परिणाम स्वरुप ३३० प्रतिशतसम्म तलब बृद्धि भएको थियो। तर पछि सरकारले कर्मचारी संघलाई प्रतिबन्ध गलाइदियो। पञ्चायती व्यवस्थाको स्थापना पश्चात कतिपय पेशागत संघ संगठनहरुले प्रतिवन्धको सामना गर्नुपर्योघ।
सार्वजनिक प्रशासनमा ट्रेड युनियन:
प्रजातान्त्रिक शासन प्रणाली भएका मुलुकमा मात्र ट्रेड युनियनहरुको उपस्थिति स्वीकार्य हुन्छ। कल्याणकारी राज्यको अवधारणा र औद्यगिक क्रान्तिले निम्त्याएको औद्योगिक प्रजातन्त्रको पृषठभूमिमा पुँजिवादी देशहरुमा ट्रेड युनियनको अभ्यास प्रारम्भ भएको भन्ने सन्दर्भ यस सम्वन्धिका विभिन्न अध्ययन हरुमा लेखिएको पाइन्छ। आफ्ना सदस्यको स्वार्थ वा हितको रक्षा गर्नु नै ट्रेड यूनियको सैद्धान्तिक फिलोसफी हो भने पेसागत हितको प्रबर्धन, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन तथा व्यवस्थापनका अविवेकी व्यवहार वा निर्णयमा आवस्यक नियन्त्रण गर्न र प्रतिकार गर्न कर्मचारीहरुलाई एकतावद्ध बनाउनु ट्रेड युनियनको मुलभुत उद्येश्य हो।
निजामति प्रशासनमा ट्रेड युनियनको विकासलाई हेर्दा सर्बप्रथम सन् १९१९ मा बेलायतमा जेएच ह्वीटलेको अध्यक्षतामा बनेको काउन्सिलले निजामति प्रशासनमा कर्मचारी एशोसियसनहरुलाई संलग्नता गराउन उचित हुने राय दियपछि नै भएको पाइन्छ। उक्त निर्णयसगै बेलायतको प्रशासनमा कर्मचारी एशोसिएसनको सहभागिता बढ्यो, भने वाग्रर ऐन १९३५ को कार्यान्वयन पश्चात अमेरिकी सार्वजनिक प्रशासनमा ट्रेड युनियनको सहभागिता भएको हो। यसैगरी सन् १९६० मा ह्वीटले परिषदका मान्यताको आधारमा कर्मचारीको मागबमोजिम तलब निर्धारण आयोगमा कर्मचारीको सहभागिता गराई भारतमा सार्वजनिक प्रशासनमा ट्रेड युनियनको अभ्यासलाई स्वीकार गरेको पाइन्छ ।
नेपालमा निजामति सेवामा ट्रेड युनियनको सुरुवात सर्वप्रथम २००८ मा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संगठनको स्थापना भए पश्चात भएको पाइन्छ। तर विशेषगरी २०४६ को जनआन्दोलनको दौरानमा उक्त आन्दोलनलाई सफल वनाउनका लागि कर्मचारीहरुको भद्र आन्दोलन वा पेन डाउनवाट नै पञ्चायतलाई हराउन सघाउ पुग्ने राजनितिक दलहरुको बुझाइका कारण विभिन्न कर्मचारी संगठनहरु निर्माण भएका थिए। २०४६ को जनआन्दोलनको सफलता पश्चात निर्माण भएको नेपाल अधिराज्यको संविधान २०४७ र तत् पश्चातको निजामती सेवा ऐन २०४९ वाट प्राप्त अधिकारवाट नै निजामती सेवामा ट्रेड युनियनहरुको अस्थित्वलाई कानुनी आधार तयार भयो र ट्रेड युनियनहरुको संस्थागत विकास अघी बढेको हो। निजामती सेवा ऐन २०४९ ले एउटा मात्र निजामती कर्मचारी संगठन रहने व्यवस्था गरेको भएपनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले अर्को संघलाई मान्यता दिएपछि सर्वोच्च अदालतमा मुद्दा दायर भयो।
निजामती सेवा ऐन २०४९ ले एउटा मात्र युनियनको व्यवस्था गरेपनि उक्त राय अन्तराष्ट्रिय श्रम संगठन (आई.एल्.ओ)को स्वतन्त्रताको सिद्धान्त विपरित थियो। उक्त व्यवस्थाको वरोध गर्दै आइ एल ओ को संगठन स्वतन्त्रासम्वन्धी विषय हेर्ने एक समितिमा निजामती सेवा ऐनले गरेको व्यवस्थाको खिलाफमा मुद्दा दायर भयो। निजामती कर्मचारीलाई पनि अरुलाई सरह ट्रेड युनियन छनौटको स्वतन्त्रता हुनुपर्ने र छनौटको स्वतन्त्रता भन्नु नै एक भन्दा बढी ट्रेड युनियनको माग गर्दछ भन्ने व्यवस्था लाई स्वीकार गरि बहुयुनियनको मान्यतालाई अंगिकार गरिएको हो। यसपछि क्रमश: तत्कालिन नियम कानुनमा संशोधन र परिमार्जन गर्दै एकलवाट बहुल युनियनको अभ्यास थालनी गरियो।
नेपालको संविधान, २०७२ को धारा ३४ मा श्रम सम्वन्धी हक अनुसार ट्रेड युनियन अधिकार स्थापित भएको छ ,श्रम ऐन,२०७४ ले श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगार दाताको लागि शारिरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनु पर्दछ भनी ब्याख्या गरे सँगै हाल नेपालमा सुरक्षा निकायमा वाहेक राज्यका सबै क्षेत्रमा ट्रेड युनियनहरु स्थापना भएका छन्। नेपालमा सार्वजिक क्षेत्र विशेषगरि निजामती सेवामा कर्मचारी ट्रेड युनियनको सवालहरु र वर्तमान संघिय शासन प्रणालीमा यसको आवस्यकता लाई लिएर आगामी श्रृङ्खलामा चर्चा गरौंला। ट्रेड युनियनको बिसासक्रमको चर्चा सँगै मे डे २०२३ को सम्पूर्ण श्रमिक वर्गमा हार्दिक शुभकामना।
(लामिछाने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य हुन् ।)