बढ्दो धूलो धूँवा र भाइरल संक्रमणले दमको समस्यालाई बढाउँदै लगेको छ। चिकित्सकका अनुसार दमकोा उपचारमा इन्हेलर उपयुक्त विकल्प हो। तर इन्हेलरको प्रयोग दम भएको पुष्टि भएपछि मात्र सुरु गर्नु पर्दछ। इन्हेलरको प्रयोग गरिरहँदा यो सम्बन्धी धेरै भ्रम र यथार्थ छन्। जीवनभर प्रयोग गर्नुपर्ने, बानी पर्ने यसका भ्रमहरु हुन्। यिनै विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरकी कमला गुरुङले कान्ति बाल अस्पतालका सिनियर कन्सल्टेण्ट पेडियाट्रिक पल्मोनोलोजिस्ट डा जगत जीवन घिमिरेसँग कुराकानी गरेकी छिन्:
बालबालिकामा हुने दम कस्तो समस्या हो ?
धूलो धूँवा र भाइरल संक्रमणले गर्दा श्वासनलीमा सुजन (सुन्निने) हुन्छ। जसले गर्दा श्वासनली साँघुरो हुन्छ। श्वासनली साँघुरो भएपछि बालबालिकामा खोकी आउने, एकदमै छिटो छिटो सास फेर्ने, स्याँ स्याँ हुने, कोखा हुने र बेला बेलामा निमोनियाको जस्तो लक्षण देखिनुलाई दम भनिन्छ।
बालबालिका र वयस्कलाई हुने दमको समस्या समान या फरक हुन्छन् ?
बाल दम, नक्कली दम, सक्कली दम लगायतका शब्दहरु प्रयोग गरिनु हुँदैन भनिन्छ। दम भनेपछि रोगको प्रकृति उस्तै नै हुन्छ। श्वासनली सुन्निने र साँघुरो हुने दमको समस्या ठूलो मान्छे र बच्चाहरुमा उस्तै हुन्छ। भित्र हुने दमको समस्या उस्तै हो। तर ठूलो मानिसमा हुने दम दुई तीन थरीको दम हुन्छ। दम, सिओपिडी र ओभरल्याप भनिन्छ। त्यसैले ठूलो मानिस र बच्चामा हुने दमको प्रकृति फरक छैन।
सानो बच्चाहरुमा नन एलर्जीक दम अर्थात् भाइरल संक्रमण हुँदा घ्यार घ्यार हुने, खोकी लाग्ने स्याँ स्याँ दम हुन्छ। यो नन एलर्जीक दम बच्चाहरुमा आम हुन्छ। तर ठूलो मानिसहरुमा यो दम अलि कम हुन्छ। वयस्कमा एलर्जीबाट हुने, मोटोपन सम्बन्धी दम धेरै हुन्छ। सानो बच्चाको दम निको पार्न अलि सजिलो हुन्छ। वयस्क व्यक्तिलाई लामो समयसम्म औषधि लिनुपर्ने हुन सक्छ। बच्चाहरुको दम उमेरसँगै पछि हराउने पनि हुन्छ। यी बाहेक बालबालिका र वयस्कलाई हुने दममा कुनै फरक छैन।
बालबालिकामा दम गराउने प्रमुख कारणहरु के के हुन् ?
दम एउटा कारणले मात्र हुँदैन। धेरै कारणहरु छन्, जसले दमको समस्या निम्त्याउँछ। केही बच्चाहरुमा एउटा कुनै खाना र धूलो धूँवाले गर्दा दमको समस्या हुन्छ। तर यो निकै दुर्लभ हो। धेरैजसो बहुआयामिक कारणहरुले गर्दा दम हुन्छ। बहुआयामिक कारणहरु भनेको धूलो धूँवा, वंशाणुगत, भाइरल संक्रमणहरु हुन्छन्।
अहिले वायु प्रदूषण निकै बढिरहेको छ। यसले पनि दमको समस्या बढाएको छ। समूह र भीडमा बस्ने बालबालिकामा भाइरल संक्रमण सर्ने जोखिम पनि हुन्छ। त्यही भाइरल संक्रमणले पनि दम गराउने गर्छ। बजारमा पाइने प्रशोधित खाना (जंकफूड) ले पनि दमको समस्या थप गराउँछ। सबै कारणले बच्चाहरुमा पहिले भन्दा दमको समस्या अलि बढेको जस्तो देखिन्छ।
वायु प्रदूषणले दमको समस्यालाई थप कसरी बढाउँछ ?
वायु प्रदूषण र दम एक अर्कासँग सम्बन्धित विषय हो। र, यसमा धेरै अध्ययन पनि भएका छन्। दमको समस्या बढाउन र लक्षणहरु पहिलो पटक देखिन पनि वायु प्रदूषणको भूमिका हुन्छ। कोही व्यक्ति वंशाणुगत रुपमा दमको जोखिममा पर्छ भने वायु प्रदूषणले त्यो जोखिमलाई झनै बढाउँछ। अघिल्लो महिना धेरै बच्चाहरु बिरामी थिए। वायु प्रदूषणले अस्पताल भर्ना हुने जोखिमलाई पनि झनै बढाइदिन्छ। दमको जटिलतालाई वायु प्रदूषणले थप बढाउँछ।
बालबालिकामा हुने दमको समस्यालाई अभिभावकले कसरी पहिचान गर्न सक्छन् ?
दमको समस्या हुने बालबालिकामा रिकरेन्ट हिस्ट्री महत्वपूर्ण हो। एउटा बच्चालाई लगातार खोकी लागिरहने समस्या छ भने दम हुने संभावना कम हुन्छ। दममा रिकरेन्ट श्वासप्रश्वास सम्बन्धी लक्षणहरु हुन्छन्। समस्या आउँछ। तर केही समयदेखि आफैँ हराउँछ। कहिले काही औषधिको प्रयोगले पनि हराउँछ। स्याँ स्याँ, घ्यार घ्यार हुने, खोकी लाग्ने श्वासप्रश्वास सम्बन्धी लक्षणहरु हुन्।
कतिपय अवस्थामा बच्चाहरु पटक पटक निमोनिया भयो भनेर अस्पताल भर्ना हुने पनि हुन्छन्। केही बालबालिकामा राति राति मात्र खोकी लाग्ने पनि हुन्छन्। केहीमा भने दिउँसो खेल्दा, उफ्रिदा पनि खोकी लाग्ने दमका लक्षणहरु हुन्। एक वर्ष मुनिका बालबालिकामा रुघा लाग्ने बित्तिकै घ्यार घ्यार र स्याँ स्याँ हुने, कोखा हान्ने र निमोनिया भएको भन्दै अस्पताल भर्ना हुने पनि हुन्छन्। ठूलो बच्चाहरुमा सास फुलेजस्तो हुने, खेल्दा उफ्रिदा छाति भारी हुने, हिड्यो भने खोकी लाग्ने पनि दमका लक्षणहरु हुन्।
दममा इन्हेलर मात्र प्रभावकारी उपचार पद्दति हो भनिन्छ। यो बाहेक अन्य विकल्प छैन ?
दमको उपचार गर्नुभन्दा पहिले दम भएको निक्यौल गर्नुपर्छ। दम भएको पक्का भएपछि मात्र उपचारमा जानुपर्छ। इन्हेलरको प्रयोग उपचारको एउटा पाटो हो। तर कुनै बच्चालाई केही चिजले समस्या बढाइरहेको छ भने त्यसलाई पहिचान गर्नुपर्छ। समस्या बढाउने कुनै वस्तुको पहिचान मात्र गर्न सकियो भने उपचारमा धेरै सहज हुन्छ। जस्तै कुनै बच्चालाई जंकफूडले खोकी लाग्छ, चिसोले समस्या बढाउँछ भने यी चिजबाट टाढा बस्नु उपयुक्त हुन्छ।
दमको उपचारमा औषधिको प्रयोग महत्वपूर्ण हुन्छ। औषधिको प्रयोग तीन तरिकाले गर्न मिल्छ। ती हुन्, खान मिल्ने, इन्हेलर र नेबुलाइजर। खाने औषधि खाएपछि रगतमा जान्छ। यसले दमलाई काम गर्छ तर यसको साइड इफेक्ट पनि हुन्छ। यसले मुटु, मिर्गौला, आँखा, हड्डी लगायत अङ्गमा असर गर्छ। त्यसैले खाने औषधि कहिले काँही मात्र प्रयोग गर्न मिल्छ। निकै थोरै समयका लागि मात्र प्रयोय गर्न मिल्छ।
दमको औषधि लगातार तीन महिनासम्म प्रयोग गर्नुपर्छ। तर यो खाने औषधि तीन महिना वा महिनै पिच्छे दिन मिल्दैन। त्यसैले हामीले इन्हेलरबाट औषधि प्रयोग गर्ने हो। इन्हेलरमा पनि दुई प्रकारको औषधि हुन्छ। एक, कन्ट्रोलर र दोस्रो, रिलिभर।
रिलिभर धेरैजसो निलो रङ्गमा आउँछ। यसले साँघुरो भएको श्वासनलीलाई ठूलो पार्ने हो। कन्ट्रोलरले सुन्निएकोलाई कम गर्ने हो। यो रातो, हरियो, खैरो रङ्गमा आउँछ। यो औषधि खाँदा साइड इफेक्ट हुने भएकाले हामीले इन्हेलरबाट दिने हो। कहिले काँही औषधिको प्रयोग गर्नुपर्छ भने नेबुलाइजरबाट पनि दिन मिल्छ। तर अलि लामो समयसम्म औषधि प्रयोग गर्नुपर्ने हो भने इन्हेलरको विकल्प अरु छैन।
एक पटक इन्हेलर सुरु गरेपछि जीवनभर प्रयोग गर्नुपर्ने हो ? या यसको पनि निश्चित समय हुन्छ ?
धेरै अभिभावकको जिज्ञासा हो यो। एक पटक इन्हेलर प्रयोग गरेपछि जीवनभर प्रयोग गर्नुपर्छ र ? भनेर अभिभावकले धेरै प्रश्न गर्नु हुन्छ। बिरामीहरुले औषधि खान सहज मान्नु हुन्छ। तर इन्हेलर प्रयोग गर्न अलि हिचकिचाउँछन्। बानी पर्छ की भन्ने अभिभावकको अर्को चाँसो पनि हुन्छ। तर बानी पर्छ भन्ने हुँदैन। यसमा विभिन्न चरणहरु हुन्छन्। पहिलो चरणमा बिरामीले कहिले काँही मात्र इन्हेलरको प्रयोग गर्ने हो। जुन बेला बिरामीलाई गाह्रो पर्छ भने मात्र प्रयोग गर्ने हो। तर लगातार बिरामी पर्छ। सुत्न समस्या हुन्छ। फोक्सोले पनि राम्रोसँग काम गरेको छैन भने केही समय लगाउने हो।
केही समय भन्नाले सामान्यतया तीन महिनासम्मको अवधि हो। तीन महिना जति केही नियन्त्रण भएपछि डोज कम गर्दै जाने हो। कतिपयले तीन महिना प्रयोग गर्ने र बन्द गर्ने पनि गर्छन्। तर त्यस्तो गर्नु हुँदैन। तीन महिना जति समस्या कम भएपछि डोज कम गर्दै जाने हो। बन्द नै गर्ने होइन। कतिपय बालबालिकाले एक देखि तीन वर्षसम्म पनि प्रयोग गर्नुपर्ने हुन्छ। अधिकांश बच्चाहरुमा भने लामो समयसम्म प्रयोग गर्नु पर्दैन। यद्यपि निख्रने रोग होइन भन्छौ हामी। यो फेरी पनि हुन सक्छ। कतिपयलाई तीन महिनापछि निको नै पनि हुन सक्छ। त्यसैले एक पटक सुरु गरेपछि बानी पर्छ। जीवनभर लगाउनुपर्छ। साइड इफेक्ट हुन्छ भन्ने कुराहरु भ्रम मात्र हुन्।
बालबालिकामा दमको समस्या हुन नदिन गर्न सकिने उपायहरु के के छन् ?
यो अध्ययनको क्षेत्र पनि हो। गर्भमा बच्चा हुँदा आमाले खाने खानेकुराहरु, सिजेरियन सेक्सन मार्फत जन्मिने शिशुहरु, जन्मिएपछिको वातावरणले पनि यसलाई प्रभाव पार्छ। विभिन्न भाइरल संक्रमणहरुलाई पनि कम गर्न सकियो भने पनि दम कम गर्न सकिन्छ भनेर अध्ययनमा पाइएको छ। यसको खोप अहिलेसम्म छैन। खोप आइसकेपछि पनि सायद कम हुन सक्ला। यो बाहेक अन्य अवस्थामा शत प्रतिशत दम हुन नदिने भन्न गाह्रो छ। हामीले माथि छलफल गरेका विषयहरु प्राइमरी रोकथामहरु हुन्। अर्को भनेको लक्षणको आधारमा गरिने उपचार नै हो।
सुरुकै अवस्थामा गरिने उपचार निकै महत्वपूर्ण छ। कुनै बेला अभिभावकले लामो खोकी लागिरहेको छ भने इन्हेलर सुरु गरेका हुन्छन्। तर यस्तो गर्नु हुँदैन। दम भएको चिकित्सकले प्रमाणित गरेपछि मात्र इन्हेलर प्रयोग गर्नुपर्छ। किनभने दम जस्तो लक्षण देखिने अन्य रोगहरु पनि छन्। त्यसैले यी कुराहरुमा अभिभावकले धेरै नै ध्यान दिनुपर्छ। कुनै एउटा खानेकुराले बालबालिकालाई गाह्रो बनाइरहेको छ भने ती खानेकुराहरु कम गर्नुपर्छ। यसमा अभिभावकहरुको धैयर्ता पनि निकै महत्वपूर्ण हुन्छ।
भिडियो/तस्बिर – निमेषजंग राई