काठमाडौं– वीर अस्पतालमा कार्यरत एक नर्स मृत फेला परेपछि उनको परिवारको दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टरलाई पक्राउ गरेको छ।
कोशी अस्पतालमा कार्यरत डाक्टर सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त बालाजुका डिएसपी मनजित कुँवरले ढकाललाई नियन्त्रणमा लिएर दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको बताए।
उनले ढकालका बुबा भने फरार रहेको जानकारी दिए।
विवाह गर्न नमानेको भन्दै सुजनकी प्रेमिका तथा नर्स अनुमा श्रेष्ठले ढकालको घरमा गएर आत्महत्या गरेकी थिइन्। प्रेमी ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेकी थिइन्।
मृतक अनुमा वीर अस्पतालमा कार्यरत थिइन्। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका थिए।
सुजनको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी अनुमाबाट सुसाइड नोट समेत भेटिएको थियो।