काठमाडौं- त्रिभुवन विश्वविद्यालय किर्तीपुर परिसरका क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धी जाँच गर्दा अस्वस्थकर खाद्य पदार्थ भेटिएको छ। क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धी गरिएको एक अध्ययनमा साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको छ।
क्यान्टिन संचालकहरुमा ब्याटेरिया, तथा क्वालिटी फुड सेफ्टीबारे ज्ञान नभएको पाइएको छ भने ६ वटा मध्ये एउटा मात्र क्यान्टिनको पकाउने तेल मापदण्ड अनुसार रहेको देखाएको छ।
त्रिविमा गत जुलाई महिनामा गरिएको अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्दै सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यशाला गोष्ठी समेत गरिएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुन्धान अधिकृत अनुप हलुवाईले विभागले फुड हाइजिन र सेफ्टीबारे तालिम दिने गरिएको र यो तालिम विश्वविद्यालयका क्यान्टिनमा पनि दिन सकिने बताए। नेपालका खाद्य बाजरमा १५ प्रतिशत अखाद्य पदार्थ भेटिने गरेको उनको भनाई छ।
उनले अब क्यान्टिन करार सम्झौता गर्दा फुड तथा हाइजिनको बुँदा राख्नुपर्ने शुझाव दिए। अखाद्य बस्तु बेच्न नहुने तथा न्युनतम मापदण्ड बनाएरै सम्झौता गर्न सकिने उल्लेख गर्दे क्वालिटी अडिट गरेर वर्गीकरण समेत गर्न सकिने उनले सुझाव दिए।
कार्यक्रमको अध्यक्षता गरिरहेका त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्र बहादुर राईले सुधारको यो पहिलो प्रयास भएको बताउदै व्यवस्थापक, संचालक, उपभोक्ता सबै मिलेर काम गर्नुपर्ने बताए। राईले पुर्वाधार धेरै कमजोर भएकाले क्यान्टिनलाई सुधार गर्ने र एउटा त्रिविकै नयाँ संरचना बनाउने कार्यक्रम रहेको समेत जानकारी दिए।
होलिस्टिक हाइजिनका कार्यकारी निर्देशक तथा कार्यपत्र प्रस्तुतकर्ता अशिम सिक्देलले उदेश्यपुर्ण नमुना छनौट विधिबाट ६ वटा नमुना क्यान्टिन छनोट गरी खान तयार भएका तथा भण्डारण ग़री राखिएका खाद्य पदार्थको १० वटा गुणस्तर मापनका साइडबाट हेरिएको जानकारी दिए।
सबैभन्दा पहिले कोकेसन पहिचान गरी क्यान्टिनको दर्ता, भण्डारण, किचन, प्याकेज, लेवलिङ, प्याकेजिङ तथा भेरिफिकेसन, क्रिटिकल कन्ट्रोल प्वाइन्ट, रेफ्रिजिरेसनको अवस्था कस्तो छ, ओभनको तापक्रम कस्तो अवस्थामा छ, तारेको खानेकुरा मात्र किन बढी छ, तारेको तेल पुन प्रयोग हुन्छ कि हुदैन, पाकेको खानेकुरा कसरी राख्ने गरेको जस्ता कुरा जुन अन्तराष्ट्रिय मान्यता अनुसार अडिट गरिएको जानकारी दिए।
उक्त अनुसन्धन्मा बेलायतको गुणस्तरीय प्रविधि प्रयोग गरी स्पोटमै रिजल्ट दिने गरी पकाउने तेलको गुणस्तर, पिउने पानी, भण्डारण गरिएको खाद्य पदार्थ र पाकेको खाद्य पदार्थ पनि हेरिएको थियो। सबैजसो क्यान्टिनमा तारेको एकैखाले खाजा र केहीमा चुरोट समेत बिक्री गर्ने गरेको भेटिएको थियो।
खाद्य पदार्थ राख्ने फ्रिजको तापक्रम कोठाकै बराबर मात्र भएको, विजुली सेभ गर्ने नाँउमा फ्रिजमा सामान राखेपनि नियमित फ्रिज नचलेको भेटिएको थियो।
स्वस्थ तथा स्वच्छता कायम गर्न सम्झौतामा नै क्वालिटीको कुरा राखिनुपर्नेमा सबै क्यान्टिनको सम्झौता नै नभेटिएको, पुर्वाधार कमजोर रहेको, मैदा र डिप फ्राई फुड बढी देखिएको, फ्रिज नचलेको, भाडा धुने पानी दुषित देखिएको छ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले अनुसन्धानले खडा गरेका प्रश्नको जवाफ अब काम गरेर देखाउनुपर्ने बताए।
कार्यक्रममा एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)का कार्यकारी निर्देशक प्राडा अर्जुन बराल, त्रिविका प्रोक्टर डा राजेन्द्र कोइरालाले समेत आफ्ना धारणा राखेका थिए।