हुम्ला- हुम्लामा आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति सङ्घ/नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो।
नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम आर्थिक सहयोग र एनआरसिएस सुर्खेत आँखा अस्पतालका प्राविधिक डा मनिष खतिवडा नेतृत्वको नौ जनाको टोलीले सदरमुकाम सिमकोटमा सञ्चालित शिविरमा सेवा प्रदान गरेको थियो। यही वैशाख २२ गतेदेखि सुरु भएको निःशुल्क शिविर सोमबार सम्पन्न भएको छ।
उक्त शिविरबाट सिमीकोट, खार्पुनाथ, नाम्खा गाउँपालिलगायतका दुई सय ४७ जनाले सेवा लिएका थिए। उक्त शिविरमा ७४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ, सुर्खेतका प्रशासन अधिकृत निशा बमले जानकारी दिए।
जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो
हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। यहाँ दैनिक रुघा खोकी, ज्वरो, कपाल दुख्ने, घाँटी सुनिनेलगायत रोगका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन्।
अस्पतालमा प्रतिदिन ५० देखि ७० जनाको उपचार भइरहेको स्वास्थ्य सहायक धनसिंह भण्डारीले जानकारी दिए। जिल्ला अस्पतालमा दम, निमेनियाका समेत बिरामी उपचार गर्न आउन थालेका उनले बताए। मौसम परिवर्तनका कारण बालबालिका तथा बूढापाका बढीजसो बिरामी हुन थालेका बताइएको छ। रासस