काठमाडौं- सरकारले स्वास्थ्य सेवाका कर्मचारीसहित एकै पटक ४४ जना सहसचिवको पदस्थापन, सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी र बागमती प्रदेशका स्वास्थ्य सचिवसहितको जिम्मेवारी हेरफेर गरेको हो।
बैठकले बागमती प्रदेशको सचिवमा डा श्रीराम तिवारीलाई पठाएको छ। बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए। सरकारले उनको स्थानमा तिवारीलाई कामकाज गर्न खटाएको हो।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थीलाई पठाउने निर्णय भएको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो।
यसैगरी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय भएको छ। उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव थिए। यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ।
यसैगरी, वीर अस्पतालमा रामप्रसाद पाण्डेलाई सरुवा गरेको छ। उनी यसअघि लुम्बिनीको मुख्य मन्त्री कार्यालयको सचिव थिए।
कसको जिम्मेवारी कहाँ हेरौं सूची?
*सरकारले सार्वजनिक गरेको सूचीमा बागमती प्रदेशको स्वास्थ्य सचिवको थरमा लुईंटेल उल्लेख भएकाले यसअघि डा श्रीराम तिवारीको स्थानमा लुईंटेल पर्न गएकाले सच्याइएको छ। - सम्पादक