काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन्।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक लिएको बताए।
उनले स्वास्थ्य बीमा गरेका मानिसहरुलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे।
मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दाबी पनि गरे।
उनले भनेो,‘स्वास्थ्य बीमाको बारेमा गम्भिर विषय उठेको छ। स्वास्थ्य बीमामा एक रुपता पनि रहेन। अनि, बीमा गरेको मान्छे भनेर अस्पिटलमा जाने वित्तिकै त्यसलाई दोस्रो दर्जाको विरामीको रुपमा हेरिने अवस्था पनि सुनेको छु। यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरि यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भएपनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको बताए। उनले क्यान्सर जस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए।
बस्नेतले सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्न आफ्नो तर्फबाट भरपुर प्रयास गर्ने बताएका छन्।
उनले स्वास्थ्यको बजेट घटिरहेको र नसर्ने रोगको उपचारमा समस्या भइरहेको अवस्थामा सबैभन्दा उपयुक्त विकल्प सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु रहेको भन्दै उनले आफ्नो तर्फबाट कर बृद्धिका लागि प्रयास गर्ने बताएका हुन्।