गृहणीले भान्सामा काम गर्दैगर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा सन्तुलित आहार हो। खाना बनाउदै गर्दा गृहणीले पाक्दै गरेको खानामा शरीरलाई चाहिने आवश्यक तत्वहरुको ज्ञान राख्नु पर्दछ। स्वस्थ रहने उपाय प्रत्येक घरमा आफैसँग छ भन्ने कुरालाई मनन गरि व्यवहारमा उतार्न सके बिरामी भएर खर्च गर्नुपर्ने पैसा सन्तुलित आहारमा प्रयोग गर्न सकिन्छ। सरल जीवनशैली र सन्तुलित आहार विहारले पारिवारिक स्वास्थ्यमा सकारात्मक उर्जा थपिन जान्छ। गृहणी अर्थात् भान्सामा काम गर्ने प्रमुख व्यक्तिमा सरसफाईको ज्ञान स्वास्थ्य शिक्षा र सन्तुलित आहार विधिको जानकारी भएन भने त्यसले सिंगो परिवारलाई रोगी बनाउने वातावरण सिर्जना गरिरहेको हुन्छ।
नेपालको परिवेसमा भान्सामा खाना पकाउने व्यक्ति र घरको काम गर्ने व्यक्तिलाई गृहणी भनिन्छ। भान्साको सरसफाईले घर वरिपरिको वातावरण कस्तो छ भन्ने कुराको महत्व राख्दछ। भान्सामा काम गर्ने गृहणीको दायीत्व सिंगो परिवारसँग जोडिएको हुन्छ। गृहणीमा सरसफाई शिक्षाको ज्ञान र घर वरिपरिको वातावरण सफा राख्ने कुराको सचेतना बढाउन सक्यों भने महामारी जन्य संक्रामक रोगहरुबाट बच्न सकिन्छ। गृहणी घरको अभिभावक पनि हुन् सन्तुलित दिनचर्याको लागि गृहणीले परिवारलाई मार्गदर्शन गर्नु पर्दछ।
बिहान छिटो उठ्नु, उठिसकेपछि पानी पिउनु, दिसा पिसाब गर्नु, साबुन पानीले हात धुनु, दाँत मुख सफा गर्नु,केही समय योग गर्नु र बिहानको नित्य कर्मपछि गृहणीले आफ्नो परिवारलाई घर वरिपरी र टोल छिमेकको वातावरणीय सरसफाईमा सचेत गर्नुपर्दछ। वातावरणीय सरसफाई र व्यक्तिगत सरसफाईले कोभिड-१९ र डेंगु ज्वरो जस्ता संक्रामक रोग र अन्य सरुवा रोगहरुको न्यूनीकरण गर्न सकिन्छ। सन्तुलित जीवनशैली जन्य पारिवारिक वातावरणले नसर्ने रोग न्यूनीकरणमा समेत टेवा थपिरहेको हुन्छ। खाना पकाउने ठाउँ अर्थात् भान्साको सरसफाई स्वास्थ्यको परिसूचक हो। खाना खाईसकेपछि खाना पकाउन प्रयोग भएका भाँडाहरु र भान्साको सफाई नियमित हुनु पर्दछ। गृहणीले आफ्नो परिवारमा खाना खानु र खाना खाईसकेपछि साबुन पानीले हात धुनुपर्दछ भन्ने शिक्षा नियमित दिई राख्नु पर्दछ।
हात धुने सन्देश दिँदै गर्दा सफा पानी पिउने शिक्षा दिन बिर्सिनु हुँदैन। भान्सामा पिउने पानी प्रयोग गर्दा फिल्टर गरेको पानी हुनु पर्दछ। मौसम र वातावरण अनुसार पानी उमालेर पिउनु पर्ने हुन्छ। गृहणीले आफ्नो परिवार भित्र नुहाउने सचेतना पनि दिनुपर्दछ। भान्सामा काम गर्ने गृहणीले मौसम र वातावरण अनुसार हरेक दिन शरीर सफा गरि राख्नु पर्दछ।बिहानको दैनिक काम, शारीरिक व्यायाम आदि गरि सकेपछि बाहिरी शरीरमा रहेको फोहोर मैला हटाउने क्रिया स्नान हो। कामको प्रकृति हेरेर कडा र भारी काम वा कडा व्यायम गरिएको छ भने केही क्षणको आराम पछि स्नान गर्नुपर्दछ। स्नानले शरीरमा उर्जा जगाउँछ,भोक बढाउँछ। शरीरको गर्मि कम गर्छ साथै शरीरलाई मौसम अनुकुल राख्न मद्दत गर्दछ।
आफ्नो शरीरको स्वास्थ्यलाई विचार गर्दै सामान्य व्यक्तिले चिसो पानीले नुहाउँदा प्रभावकारी हुन्छ भने रोगी व्यक्तिले तातो पानी प्रयोग गर्न सकिन्छ। तातो पानीले स्नान गर्दा पाचन क्रिया घट्ने, आँखाको ज्योती घट्ने, समय अघि नै कपाल फुल्ने र झर्ने जस्ता समस्याहरु आउन सक्दछन्। स्नानपछि शरीरमा तेल मालिस गर्नु अत्यन्तै हितकर मानिन्छ। गर्मी शरीर हुने व्यक्तिले तोरी वा तिलको तेललाई तताएर चिसो भइसकेपछि तेल लगाउनु पर्दछ भने चिसो लागि रहने व्यक्तिले तोरी, तिल आदिको तेलमा ज्वानो, लसुन र अदुवा राखी तेल मालिस गर्दा लाभदायक हुन्छ।
गृहणीले भान्सामा काम गर्दै गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा सन्तुलित आहार हो। खाना बनाउदै गर्दा गृहणीले पाक्दै गरेको खानामा शरीरलाई चाहिने आवस्यक तत्वहरुको ज्ञान राख्नु पर्दछ। सन्तुलित आहारले पारिवारिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। आहारको प्रभाव शरीरसँगै मनसँग पनि जोडिएको हुन्छ। सात्विक, उचित मात्रा र ऋतु अनुकुल भोजन स्वस्थ शरीरको लागि महत्वपूर्ण छ। स्वस्थ शरीरका लागि ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लीय तत्वको आवश्यक पर्दछ। क्षारीय तत्व भएका खानाहरु मकै, गहूँ, चना, भटमास, आटो, ढिँडो, हरिया सागपात, फलफूल र सलाद आदि हुन् भने अहिले हामीले प्रयोग गर्ने प्याकिंग खानाहरुमा अम्लीय तत्वको मात्रा धेरै हुन्छ। त्यसैले गृहणीमा आहार शिक्षा सचेतना महत्वपूर्ण मानिन्छ। हामीले प्रयोग गर्ने खानामा २० देखि ४० प्रतिशत भात, रोटि, माछामासु आदि हुनु पर्दछ भने ६० देखि ८० प्रतिशत तरकारी, सलाद र फलफूल हुनु पर्दछ। गृहणीले भान्सामा खाना बनाउदै गर्दा नुन र चिनी जन्य चिजहरुको मात्रा घटाउदै जानु पर्ने तथ्य विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्।
हाम्रो शरीरका लागि दिनमा ३ देखि ५ ग्राम नुनको आवस्यकता पर्दछ भने हामीले प्रयोग गर्ने दाल, तरकारी र अचार आदिमा नुनको मात्रा ८ देखि १० ग्राम हुन जान्छ। त्यस्तै हामीले प्रयोग गर्ने चिनीको मात्रा पनि घटाउन पर्ने आवस्यक देखिन्छ। नुन र चिनीको सन्तुलन कायम गर्नु अहिलेको महत्वपूर्ण विषय हो। हाम्रो खानामा मिठो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो रस भएका तत्वहरु हुनुपर्दछ। जसले क्षारिय र अम्लीय सन्तुलन कायम राख्न भूमिका खेलीरहेका हुन्छन्। खाना खादा आधा पेट खानु स्वास्थको लागि उत्तम मानिन्छ। साँझको खाना सुत्नु भन्दा २ घण्टा अगाडी खानु अत्यन्तै राम्रो मानिन्छ। जसले मधुमेह, उच्च रक्तचाप र विभिन्न हर्मोन बिकृति जन्य रोगहरु न्यूनीकरणमा टेवा पुग्ने विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्।
घरको अभिभावक वा गृहणीमा पारिवारिक स्वास्थ्यलाई चुस्त दुरुस्त राख्न आवस्यक पर्ने अर्को महत्वपूर्ण ज्ञान निद्रा हो। गृहणीले साँझको खाना समयमै तयार गरि सक्नु पर्दछ। साँझको खाना ७ देखि ८ बजे भित्र खानु पर्दछ। खाना खईसकेपछि उच्च रक्तचाप, मुटु जन्य समस्या, मधुमेह रोगि र मोटोपन युक्त व्यक्ति घर वरिपरी १०० देखि २०० पाईल हिडदुल गर्नुपर्दछ। त्यसपछि सम्पूर्ण परिवारमा सकारात्मक उर्जा प्राप्त होस् भन्ने हेतुले भजनकिर्तन, कथा र मुक्तक आदि भनेर केहि क्षण रमाइलो गर्नु पर्दछ। उपलव्ध भएमा घरका सबै सदस्यहरुले एक एक कप दुध पिउनु स्वास्थ्यको लागि लाभदायक मानिन्छ। दूध उपलव्ध नभएमा एक एक गिलास मनतातो पानी पिउनु राम्रो मानिन्छ। उक्त क्रियाकलाप पछि निद्राको लागि तयार हुनु पर्दछ। निद्राको लागि बिस्तारमा जाँदै गर्दा आफ्नो बैद्दिक मन्त्र उच्चारण गर्दै सकारात्मक सोचका साथ सुख अनुभूतिको वातावरण सिर्जना गर्नुपर्दछ। कुनै पनि एक स्वस्थ व्यक्तिको लागि दिनमा ६ घण्टा निद्र आवस्यक पर्दछ। बालबालिका र जेष्ठ नागरिकहरुको लागि दिनमा ८ घण्टा निद्रा अनिवार्य हुन्छ। मनको चन्चलता महत्वकांक्षी भाव, अनावश्यक सोचाई, जीवनशैलीमा आएका परिवर्तन जस्ता कारणहरुले निद्राको सन्तुलन बिगार्न सक्दछ। निद्राको सन्तुलन बिग्रनु उच्च रक्तचाप, मुतुजन्य समस्या, हर्मोन बिकृति जन्य रोग र मानसिक रोगको कारण बन्न सक्छ। त्यसैले पारिवारिक स्वास्थ्यलाई चुस्तदुरुस्त राख्न गृहणी अर्थात् घरको अभिभावक शिर्षकमा नागरिक स्वास्थ्य प्रवर्धन र रोग न्यूनीकरणमा टेवा थपिने सचेतना जगाउनु हाम्रो अभियान हो।
(लेखक योग अभियन्ता तथा आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख हुन्।)