धरान- प्रसव फिस्टुला पहिचानका लागि स्वास्थ्यकर्मीलाई लक्षित गरेर देशमै पहिलो पटक कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका तयार भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रसुति रोग विशेषज्ञ प्राडा मोहनचन्द्र रेग्मीको नेतृत्वमा पाँच दिने तालिम निर्देशिका तयार भएको हो। तालिम निर्देशिका तयार गर्ने क्रममा एक वर्षदेखि प्राडा रेग्मी नेतृत्वको टोलिले धनकुटाका ५६, झापाका ३६ र संखुवासभाका २४ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको थियो। हरेक पालिकाका स्वास्थ्यकर्मी समेटिएको तालिमपछि निर्देशिका तयार भएको छ।
निर्देशिका तयार भएर परिक्षण भइरहेको र अबको दशदिनमा पूर्ण हुने प्राडा रेग्मीले बताए। उनी भन्छन्, ‘यो निर्देशिका तयार भएपछि अन्य प्रदेशमा पनि यहि अनुसार स्वास्थ्यकर्मीलाई तालिम दिईन्छ, त्यसपछि पालिकास्तरमै फिस्टुला पहिचान गर्न सहज हुन्छ।’
परिवार कल्याण महाशाखाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्र मार्फत तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो।
प्रसव फिस्टुला पिडित महिलाहरु गाउँ गाउँमा धेरै भएपनि स्वास्थ्यकर्मीहरुले नै पहिचान गर्न नसक्दा उपचार हुन बाट बञ्चित छन्। फिस्टुला पहिचानका लागि स्वास्थ्यकर्मीमा सचेतना जगाउन देशव्यापी रुपमा तालिम प्रदान गर्ने उद्देश्यले तालिम निर्देशिका तयार गरिएको प्राडा रेग्मीले बताए।
बच्चा जन्माउने क्रममा लामो समय प्रसव व्यथा लाग्दा, दक्ष स्वास्थ्यकर्मी बिना घरमै प्रसुति गराउँदा वा सानो उमेरमै बच्चा जन्माउँदा बच्चाको अंगले आमाको पिसाब नलीमा प्वाल पारिदिने बढी सम्भावना हुन्छ। कहिले काहिं स्वास्थ्यकर्मीको लापरबाहीले पनि अप्रेसनका क्रममा प्वाल पर्न सक्छ। यस्तो अवस्थामो पिसाब रोक्न सकिंदैन र निरन्तर बगिरहने समस्या हुन्छ। त्यसैलाई प्रसव फिस्टुला (अब्स्ट्रेटिक फिस्टुला) भनिन्छ।
संयुक्त राष्ट्र संघले सन् २०३० भित्र संसारबाट प्रसव फिस्टुला उन्मूलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ। तर, अहिले पनि प्रसव फिस्टुलाका पिडितको सङ्ख्या बढ्दो क्रममा रहेकाले लक्ष्य पुरा गर्न चुनौति छ।
विकसित देशहरुमा एक शताब्दि अघि नै निर्मूल भएको प्रसव फिस्टुला दक्षिण एसियाली मुलुक, अरबी मुलक र अफ्रिकामा अहिलेपनि ठूलो समस्याका रुपमा रहेको छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)का अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पिडित छन् भने हरेक बर्ष ५० हजारदेखि १ लाख पिडीत थपिईरहेका छन् तर विश्वव्यापी उपचार क्षमता ६५ हजार मात्र छ। नेपालमा सरकारी निकायसँग फिस्टुला सम्बन्धी एकिन तथ्याङ्क छैन। फिस्टुला फ्रि नेपालका अनुसार नेपालमा करिब ५० हजार पिडीत रहेको अनुमान छ भने हरेक वर्ष ५ सय देखि १ हजारसम्म नयाँ फिस्टुला प्रभावितको संस्या बढिरहेको छ। त्यसमध्ये बढिमा १ सय जनाको मात्र उपचार हुने गरेको छ। अहिले पनि करिब ५ हजार पिडितहरु उपचारको पर्खाइमा छन्।
प्रसव फिस्टुला बारे आम नागरिकमा मात्र होईन स्वास्थ्यकर्मीमा पनि कमै मात्र जानकारी रहेको पाईन्छ। समस्या लिएर स्वास्थ्य केन्द्र पुगेका विरामीको पहिचान हुन नसक्दा पनि उपचार हुन सकेको छैन। प्रसव फिस्टुला बारे जनचेतना र उपचारका लागि नेपाल, भारत, वंगलादेश, पाकिस्तान लगायत दक्षिण एसियामा नेटवर्क बनाएर काम गरिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा मोहनचन्द्र रेग्मी मातृ मुत्युदर उच्च भएका ठाउँमा फिस्टुलाको समस्या पनि बढि हुने बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि नेपालमा ६० प्रतिशतले मात्र स्वास्थ्य संस्थामा बच्चा जन्माउँछन्, ४० प्रतिशतले घरमै जन्माउँछन्। त्यसैले फिस्टुलाको जोखिम धेरै छ।’
जनचेतनाको अभावमा फिस्टुलाको उपचार गराउनु भन्दा लाजले लुकाउनेहरु पनि धेरै भेटिन्छन्। २०–२५ वर्षसम्म समस्या भोगेपछि उपचारका लागि स्वास्थ्य संस्था पुग्नेहरु पनि छन्।
नेपालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले राष्ट्रिय फिस्टुला केन्द्र घोषणा गरेको छ। बिपीसँगै पाटन अस्पतालमा फिस्टुला पिडितको निःशुल्क उपचारको व्यवस्था छ। यसको अप्रेसन गरेपछि २१ दिन अस्पताल बन्नु पर्छ। अप्रेसन गर्न मात्र करिब ५० हजार खर्च हुन्छ। तर दाताहरुको सहयोगमा विरामीले निःशुल्क उपचार पाउँदै आएका छन्। यद्यपी चेतनाको अभावमा अहिले पनि अस्पताल पुग्नेको संख्या न्यून नै छ। समयमै उपचार नपाउँदा पिडितहरुले परिवार र समाजवाट भेदभाव र लान्छना भोग्नु परेको छ।
सरकारले अहिले फिस्टुला, आङ्खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरलाई प्रजनन स्वास्थ्य समस्या भनेर वर्गीकरण गरेको छ। तर स्वास्थ्यकर्मीहरुले नै पहिचान गर्न नसक्दा पिडितले उपचार पाउन नसकेको प्राडा रेग्मी बताउँछन्। उनी भन्छन्, ‘सामाजिक चेतनाको अभाव, स्वास्थ्यकर्मीको चेतना अभाव र जथाभावि अप्रेसन गर्दा हुने खतराले फिस्टुला बढिरहेको छ। यसका लागि नियमनकारी निकायले ध्यान दिनुपर्छ।’