काठमाडौं- नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सिन्धुली जिल्ला अस्पतालमा भएको घटनाको छानबिन गर्न माग गरेका छन्। सांसद घिमिरेले बुधबार प्रतिनिधि सभामा बोल्ने क्रममा उक्त माग गरेका हुन्।
सांसद घिमिरेले अस्पतालमा बिरामीको मृत्यु भएको र त्यसपछि अस्पतालमा तोडफोड समेत भएको कुरा राख्दै घटनाको छिटोभन्दा छिटो निश्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
'सिन्धुली जिल्ला अस्पताल तनावग्रस्त छ। एकजनाको ज्यान गएको छ। अस्पतालमा तोडफोड भएको छ। देशमा कानुन र विधिको सासन छ कि छैन? म सरकारसँग प्रश्न गर्न चाहन्छु। यसघटनाको छिटो र निश्पक्ष छानबिन गरी दोषिमाथि अविलम्ब कारबाही गरियोस् भनेर माग पनि गर्दछु,' सांसद घिमिरेले संसदमा भनेका छन्।
उनले यस्ता घटनाहरु केबल सिन्धुलीमा मात्र नभएर देशभरका प्राय: सबै अस्पतालमा बेलाबेलामा घटिरहने भएकाले कारबाही गर्ने कानुनी व्यवस्था छ भन्ने विश्वास आमजनतालाई दिलाउन जरुरी रहेको पनि बताए। 'यदि चिकित्सकको कमजोरीका कारण बिरामीको मृत्यु भएको वा क्षति पुगेको छ भने क्षतिपूर्ति पाइन्छ कारबाही गर्ने कानुनी व्यवस्था छ भन्ने आम जनतालाई विश्वास दिलाउन जरुरी छ,' उनले भने।
सांसद घिमिरेले विकशित देशहरुमा चिकित्सकले सेवामा आउनुपूर्व क्षतिपूर्ति बिमा अनिवार्य गर्ने व्यवस्था रहेकाले नेपालमा पनि उक्त व्यवस्था मिलाउन पनि माग गरेका छन्। चिकित्सा पेशालाई मर्यादित र सुरक्षति बनाउन पनि उनले जोड दिएका छन्।
'संसारका विकशित मुलुकहरुमा चिकित्सकले सेवामा आउनुपूर्व क्षतिपूर्ति बिमा गर्ने अनिवार्य व्यवस्था मिलाइयोस भन्ने जोडदार माग गर्दछु। साथै चिकित्सक पेशालाई मर्यादित र सुरक्षित बनाउँदै क्षति भएको ठाउँमा क्षतिपूर्तिको व्यवस्था सहज रुपमा पाउने गरी व्यवस्था गरियोस् भनेर माग गर्दछु,' उनले भने।
सिन्धुली अस्पतालमा मंगलबार उपचारका क्रममा कमलामाई नगरपालिका-५ की २९ वर्षीया गंगा गुरुङको मृत्युपछि अस्पतालमा आफन्त र स्थानीय विरोधमा उत्रेका थिए। सो क्रममा भएको ढुंगामुढाका क्रममा अस्पतालका झ्यालहरु फुटेका छन्। अस्पतालका अन्य स्थानमा पनि तोडफोड भएको बताइएको छ।