काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्यकर्मीहरुमाथि भएको अपमानजनक व्यवहारको विरोध गरेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्सहरुमाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने गरि भएको क्रियाकलापको विरोध गरेको हो।
महासंघले दुई घटनामा पिडीत नर्स तथा स्वास्थ्यकर्मीको पक्षमा भएको आन्दोलनलाई समर्थन गरेको समेत जनाएको छ। संघले दुबै घटनामाथि तुरुन्त छानविन गरी दोशीमाथि कारवाही गर्न समेत जोडदान माग गरेको छ।
क्यान्सर अस्पताल भरतपुरमा एक बिरामीको उपचारमा सहयोग गरेको दावी गर्ने गिभिना मगरले त्यहाँ कार्यरत नर्स र नर्सिङ पेशाप्रति नै आँच आउने गरी सामाजिक क्रियाकलाप गरेको भन्दै नर्सहरु आन्दोलित भएका छन्। उनीहरुले मंगलबार र बुधबार माइतीघर मण्डलामा समेत गएर प्रदर्शन गरेका छन्।
यस्तै उदयपुरमा आफूलाई सञ्चारकर्मीद्धावी गर्ने एक व्यक्तिले त्यहाँ कार्यरत सीअहेव माथि केरकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । संघले यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोवल र सुरक्षामा समेत असर पुग्ने बताएको छ।
यस्तै संघले कर्मचारी समायोजनमा स्वास्थयकर्मीहरुको समायोजन अवैज्ञानिक र अव्यवस्थित भै हालसम्म पनि पूर्ण समायोजन भई नसकेको उल्लेख गर्दै यसलाई सुधार गरेर अघि बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। उसले अधिकांश सथनीय तहमा स्वास्थ्यकर्मीहरुले नियमित रुपमा तलव भत्ता नपाएको भन्दै यस तर्फ पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।