काठमाडौं- सिन्धुली अस्पतालमा भएको घटनापछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले सुरक्षा उपलब्ध गराउन माग गरेका छन्।
उनीहरुले अस्पताल प्रमुख समक्ष सुत्केरी महिलाको मृत्यु पश्चात भएको तोडफोडले आफूहरुले असुरक्षीत महसुस गरेको भन्दै सुरक्षा उपलव्ध गराउन माग गरेका छन्।
डा सुदिप कुमार ठाकूर, डा विनय चौधरी,सबिर खड्का, डा प्रेरित देवकोटा, डा लिलामणि राजथला, डा अर्पणा कार्की, डा अस्मिता पाण्डे, डा श्रेया थापा, डा सुजन ढकाल, डा सुवास कुमार शाह, डा रोशन श्रेष्ठ, डा आर्ज गुप्ता, डा सरोज शाह लगाएतले संयुक्त रुपमा अस्पताल प्रमुख समक्ष सुरक्षा माग गरेका छन्।
उनीहरुले यही अवस्थामा काम गर्न नसक्ने पनि बताएका छन्। कमलामाई नगरपालिका-५ की गंगा गुरूङको मंगलबार मृत्यु भएको थियो। गुरुङलाई अस्पतालमा १० बजेतिर ल्याइएको थियो। उनको अवस्था सुधार नभएपछि थप उपचारका लागि बर्दिबास लगिएको थियो। बर्दिबास लैजाने क्रममा गुरुङको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
आफन्तले गुरुङलाई बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्।
गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालविरुद्ध आन्दोलनमा उत्रेका आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। अस्पताल प्रशासन, सरोकारवाला र पीडितपक्षबीच तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।