काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विगतमा कक्षा १० को नेपाली विषयबाट हटाइएको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको जीवनीलाई फेरि समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर डा रुइतको जीवनी हाल कक्षा ४ को नेपाली, कक्षा १० को सामाजिक विज्ञान तथा प्रविधि, कक्षा ८ को नेपाली र कक्षा ७ को अंग्रेजी विषयको पाठ्यक्रममा निकै अपूर्ण र असान्दर्भिक ढंगले परिमार्जित गरी समावेश गरिएकोले पुन: पहिलेकै जीवनी कक्षा १० को नेपाली विषयमा नै समावेश गर्न माग गरेको हो।
विभिन्न ११ बुँदे माग राख्दै ११ महिनादेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै विगत लामो समयदेखि रोकिएको संघीय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, मुलुकमा व्याप्त सबै भ्रष्टाचारको अन्त्य गर्न र भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउनका लागि २०६६ सालपछिका सबै उच्च पदस्वका पदाधिकारी र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न माग गरिएको छ।