चुरोट तथा सुर्तीजन्य पदार्थले शरीरको सम्पूर्ण अङ्गहरूमा असर गर्छ। अझ भनौँ सम्पूर्ण प्रणालीहरूमा यसले असर गर्छ। यसले मुख्यतया दम, दीर्घखोकी, श्वासप्रश्वासमा, आज्मा र क्षयरोगलाई बढवा दिन्छ। ८० देखि ९० प्रतिशत फोक्सोको क्यान्सरको कारण पनि धूम्रपानको सेवन नै हो। त्यसै गरी धूम्रपान नगर्नेको तुलनामा १० देखि २५ गुणा मुटु रोग, हृदयघातको सम्भावना धूम्रपान गर्नेहरूलाई हुन्छ।
धूम्रपानको सेवनले पक्षघात, मधुमेहको जोखिमलाई समेत बढाउँछ। साथै, अपच हुने अर्थात् खानेकुरा पचाउन समस्या हुने, ग्यास्ट्रिक, पेट ढुस्स हुने, अल्सरको समस्या, रगत बाक्लो बनाइदिने सम्भावना हुन्छ। जसको कारणले टाउको दुख्ने, झमझमाउने समस्या हुन्छ। यसको प्रयोगले जोर्नीहरू दुख्ने तथा हड्डी मक्किने समस्या पनि निम्तिन सक्छ।छाला फुस्रो हुने, एलर्जी हुने, चाउरी पर्ने, आँखामा एलर्जी हुने, कपाल झर्ने, मानसिक रोगहरूलाई बढवा दिने, स्मरण शक्ति कमजोर हुने लगायतका समस्या पनि सुर्तीजन्य पदार्थको सेवाको कारणले हुन्छ। यसले समग्र स्नायु प्रणालीलाई नै असर गर्छ।
यसले प्रजनन प्रणालीमा समेत असर गर्छ। जस्तो गर्भवती महिलाले मद्यपान तथा धूम्रपान गरिरहेको छ भने बच्चामा वृद्धि विकासको समस्या हुन सक्छ। नयाँ जन्मने बच्चाको फोक्सोको विकास पनि राम्रोसँग हुदैन्। कालान्तरमा बच्चामा दमको समस्या समेत देखिन सक्छ।त्यसैगरी आमाको गर्भमा नै बच्चा तुहिएर जाने समस्याहरू समेत निम्तिन सक्छ। सुर्तीजन्य पदार्थको सेवनले महिलाहरूको प्रजनन क्षमतामा असर गर्छ। महिलामा अण्डाशयको विकास राम्रोसँग हुन सक्दैन।
त्यसैगरी पुरुषमा पनि शुक्रकिटहरू नष्ट हुने सम्भावना बढी रहन्छ। धूम्रपानले मिर्गौलामा पनि असर गर्छ। साथै, रक्तचाप, कोलेस्ट्रोल, मधुमेह उच्च हुने सम्भावना हुन्छ। यसले रगतका नशा र नासिकाहरूको भित्तालाई कडा बनाइदिने हुनाले रक्तचाप बढ्छ। उच्च रक्तचापले हृदयघात र पक्षघातको सम्भावना बढाउँछ। धूम्रपानको कारणले करिब १३ प्रकारका नसर्ने रोग लाग्छ भन्ने गरिन्छ। यसरी सुर्तीजन्य पदार्थले सम्पूर्ण शरीरको प्रणालीहरूमा असर गर्छ। अधिक धूम्रपान गर्नेहरूको नगर्नेको तुलनामा दश वर्ष उमेर घट्छ। एक अध्ययनका अनुसार एक खिल्ली चुरोटले व्यक्तिको ११ मिनेट आयू घटाउँछ।
नेपालमा पछिल्लो समय धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दो क्रममा छ। अव्यवस्थित र परिवर्तित रहनसहन, भोज भतेर, पार्टी, भेटघाट बढ्दो क्रममा हुन्छ। अहिले इन्टरनेट र सामाजिक सञ्जालको जमाना छ। त्यसको कारणले पनि अहिले विद्यालय उमेरकै किशोरकिशोरीहरुले यस्ता चिजको प्रयोग गरेको पाइन्छ। चलचित्र,सामाजिक सञ्जाल लगायतका कुराहरू र परिवर्तित जीवनशैलीको कारणले पनि धूम्रपान प्रति मानिसहरूको आकर्षण बढ्दो छ।
चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन कम गराउन विभिन्न काम गर्न सकिन्छ। जस्तो भुटानमा यस्ता चिजको विक्री वितरण पूर्ण बन्देज छ। हाम्रो देशमा पनि सुर्तीजन्य पदार्थहरूको विज्ञापनमा रोक लगाएको छ, कार्यक्रमहरूको स्पन्सरमा रोक लगाएको छ। अझै हाम्रो जस्तो देशमा जनचेतनाको पाटोमा धेरै काम गरिनु आवश्यक छ। विद्यालयहरूमा पढाइने स्वास्थ्य शिक्षाका कोर्सहरूमा यो विषय समेटिनु पर्छ। त्यस्तै सार्वजनिक स्थानहरूमा, अस्पतालभित्र या आसपास, विद्यालय र सार्वजनिक यातायातभित्र ल्याउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्छ। यस्ता ठाउँहरूको नजिक सुर्तीजन्य पदार्थ बेच्न पनि दिनुहुँदैन्।यसको लागि प्रत्येक व्यक्तिदेखि परिवार, समाज, स्थानीय तह, सामाजिक सङ्घसंस्था, प्रदेश, सरकार सबैले यसको न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। किनकि जनताको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो।धूम्रपानले सेवन गर्ने मान्छेलाई मात्रै नभई नजिक बस्ने मानिसहरूलाई समेत असर गर्छ। यसले वातावरणीय प्रदूषणमा समेत ठूलो असर गरिरहेको छ।
आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस हो। यसमा चुरोट, सिगार, हुक्कादेखि लिएर चपाउने गुट्खा, सुर्तीहरूसम्म पर्छन्। यी सबै चिजले फोक्सोको क्यान्सरदेखि जिब्रो, घाँटी, गिजा,खाना नलीको क्यान्सर र मुखको क्यान्सर पनि बढ्दो क्रममा छ। त्यस कारण सरकारले यसको रोकथामको बाटो खोज्नुपर्छ। जनता स्वस्थ राख्नको लागि कडा भन्दा कडा नियमहरू बनाउनु पर्छ। सरकार यस्ता चिजको बिक्री वितरण रोक्न नै पनि पछि पर्नुहुन्न। किनकि जनताको स्वास्थ्य भन्दा महत्त्वपूर्ण केही छैन। जनताको स्वस्थ स्वास्थ्य नै राज्यको सबैभन्दा ठूलो सम्पत्ति हो। अहिले आएको बजेटमा क्षयरोग निर्मूल पार्ने भनेर बजेट थप गरिएको छ तर सुर्तीजन्य पदार्थको नियन्त्रण नगरी क्षयरोग निर्मूल पार्न सम्भव छैन। किनकि सुर्तीजन्य पदार्थले क्षयरोग वृद्धि गर्न ठुलो भूमिका खेल्छ। नेपालमा हुने प्रमुख १० मृत्युको कारणमध्ये एक सुर्तीजन्य पदार्थको प्रयोग पनि एउटा कारण हो। यो साईलेन्ट किलर हो। यसको नियन्त्रण गर्नुको विकल्प छैन।
(पल्मोनरी एवं क्रिटिकल केयरका विशेषज्ञ डा बम त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन्)