जुम्ला - जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ। यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन्।
जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका ६१ वर्षीय दिपु उपाध्याको भाइरल ज्वरोबाट मृत्यु भएको जानकारी दिएका छन्।
सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ। उपचारपछि अहिले सबैको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए। उनका अनुसार अहिले ज्वरो नियन्त्रणमा आएको छ। सूचना अधिकारी सुमाइले बिरामी परेका ५३ जनामध्ये आठको अवस्था गम्भीर रहेको र तीमध्येका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
उपचारपछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आएको र बिरामीको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ। उनीहरुलाई ज्वरो आउनुका साथै आँखा, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखा परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी सुमाइको भनाइ छ। उक्त वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विशाल रोकायासहित जनस्वास्थ्य कार्यालयका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
कनकासुन्दरीको वडा नं ७ मा एक सय १५ घरधुरी छन्। प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिएका कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। रासस